कक्षा १२ को परीक्षा आजबाट, यस्तो छ सुरक्षा व्यवस्था

student-business
लाेकपाटी न्यूज

काठमाडौं, १५ वैशाख । आजबाट कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ। पहिलो दिन अंग्रेजी विषयको परीक्षा भइरहेको छ।

परीक्षाका लागि चार लाख २८ हजार ५२ जना परीक्षार्थीले फाराम भरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। सबैभन्दा कम मनाङमा ५९ जना र सबैभन्दा धेरै काठमाडौंमा ६२ हजार ५ सय ८८ परीक्षार्थीले फाराम भरेको बोर्डले जनाएको छ।

देशभर १ सय ७ परीक्षा केन्द्र कायम गरिएको बोर्डले जनाएको छ। परीक्षालाई मर्यादित बनाउन १३ हजार २ सय ८४ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। परीक्षाको नियम उल्लंघन गर्नेलाई छ महिना कैद र एक लाख रुपियाँसम्म जरिवाना गरिने बोर्डले जनाएको छ।

यसैबीच प्रश्नपत्रको सुरक्षाका लागि प्रश्नपत्र राखिएको कोठामा सीसीटीभीमार्फत निगरानी गरिएको पनि बोर्डले जनाएको छ। परीक्षामा अनियमितता हुन नदिन यसपटकबाट थप कडाइ गर्ने गरिएको हो।

१२ कक्षाको परीक्षा वैशाख २९ गतेसम्म चल्नेछ भने ११ कक्षाको वार्षिक परीक्षा पनि वैशाख २९ गतेबाट नै सुरु हुनेछ। सरकारले एसईईको परीक्षामा प्रश्नपत्र आउट भएपछि कक्षा ११ र १२ को परीक्षालाई मर्यादित बनाउन लागेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्