भरतपुर, १५ वैशाख । उपचारका क्रममा नौ महिनाको बालकको मृत्यु भएपछि शनिबार चितवन मेडिकल कलेज तनावग्रत बन्यो।
गोरखा गण्डकी गाउँपालिका ४ घरभई हाल चितवनको रत्ननगर १५ मा बस्दै आएका रुपेश घिमिरेका नौ महिनाका छोरा रुप्सन घिमिरेको चितवन मेडिकल कलेजको बहिरङ्ग विभागमा उपचारका क्रममा मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो।
मृतक बालकका आफन्तले अस्पताल तोडफोड गरेका छन्। तोडफोडबाट अस्पतालको गेटका सिसा फुटेका छन्। तोडफोड पछि केहीबेर अस्पताल तनावग्रस्त बनेको थियो। अस्पतालको सुरक्षाका लागि दिनभर ठूलो सङ्ख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको थियो।
चैत ३० गते सामान्य रुघाखोकी लागेर उपचारका लागि अस्पताल ल्याइएका बालकको शुक्रबार अपरान्ह ४ बजे अस्पतालले मृत घोषणा गरेको थियो। ‘सुरुमा इमरजेन्सीमा भर्ना गरिएको बालकको वार्डमा भर्ना गरेपछि वैशाख २ गते साँझ साढे ५ बजे इन्जेक्सन लगाइयो’ मृतक बालकका बुबा रुपेशले भने, ‘सुरुमा एउटा नर्सले इन्जेक्सनका लागि तयार गरेको ठाँउमा ४५ मिनेटमा अर्की नर्स आएर इन्जेक्सन लगाउँदा लगाउँदै छोरा अचेत भयो ।’
यसअघि अस्पतालले बालकको ३ गते डिस्चार्ज गर्ने आफन्तलाई जानकारी गराएको थियो। २ गतेदेखि अचेत भएका छोराको १० गतेसम्म बाँच्छ भनेर अस्पतालले आश्वासन दिएको रुपेशले बताए। १० गतेपछि भने अस्पतालले बालक बाच्ने नबाच्ने भगवान भरोसा रहेको भन्ने प्रतिकृया दिएको थियो ।
उनले भने, ‘१३ गते रातको साढे १० बजे अस्पतालबाट फोन आयो, छोराको मृत शरीर बुझ्नु पर्यो, हस्ताक्षर गर्न आउनुहोस् भन्दै । मैले बिहानसम्म अस्पतालमै छोराको शव राख्न आग्रह गरेको थिए। तर बिहान आउँदा छोराको शव छैन्। रातारात गायब गराइयो ।’
उनले अस्पतालले आफ्नो अनुमति विना रातारात छोराको शव गायब गराएको आरोप लगाए। बालकको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको अस्पतालले जनाएको छ। अभिभावकलाई जानकारी नै नदिइ चितवन मेडिकल कलेजले रातारात शव भरतपुर अस्पताल पठाएको हो।
अस्पतालले १० गते बच्चाको मृत्यु नहुँदै उपचारको खर्च व्यहोर्छौँ भनेर उपचारमा संलग्न चिकित्सक डाक्टर सन्तोष पाठकले आश्वासन दिएको बुबा रुपेशले बताए। उनले अस्पतालसँग छोराको शव मागेको र उपचारमा लापरबाही गर्नेमाथि कारबाहीको माग राखेको जानकारी दिए। बालकको उपचारमा डा. सन्तोष र डा.शान्ती रेग्मीको टिम खटिएको थियो।
शनिबार अस्पताल प्रशासन र मृतक बालकका आफन्तबीच पटक–पटक वार्ता भएको थियो। वार्तामा विभिन्न दल र दल निकट मजदुर संगठनका प्रतिनिधिहरु पनि सहभागी थिए। अस्पतालले उपचार खर्च व्यहोर्ने तर अन्य क्षतिपूर्ति नदिने अडान लिएपछि वार्ता निष्कर्षमा नपुगेको मजदुर नेता अनक मगरले जानकारी दिए।
अस्पताल प्रशासनले भने मृतक बालकका आफन्तले १२ लाख रुपैयाँ माग गरेको तर आफूहरुले दिन नसक्ने बताएको प्रतिकृया दिएको छ। एक विज्ञप्ती जारी गर्दै सुरुमा स्वासप्रस्वासमा सङ्क्रमण देखिएको र पछि त्यसको सङ्क्रमणले बालकको मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालले बालकको उपचारमा अधिकतम प्रयास गरिएको विज्ञप्ती मार्फत उल्लेख गरेको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले अस्पतालमा भएको घटनाको विषयमा तोडफोड भएपछि मात्र आफूले थाहा पाएको बताएका छन्। उनले भने, ‘अस्पतालमा हुने यस्ता गतिविधि ठिक होइन, सुरुमा भित्रभित्रै मिलापत्र गर्ने अनि तोडफोड भएपछि मात्र प्रशासनलाई खबर गर्ने परिपाटी छ ।’ उनले अस्पतालमा बिरामीको मृत्यु हुने र पैसाको बार्गे्निङ हुने प्रवृत्ति खतरनाक भएको बताए। उनले यस्ता गतिविधिलाई निरुत्साहित गर्न छलफल गरी कडा निर्देशन दिइने बताएका छन्। सञ्चारपत्र दैनिकबाट



लाेकपाटी न्यूज
