दुई नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न

suraksha gosthi
लाेकपाटी न्यूज

धनुषा, १४ वैशाख । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को प्रमूख आतिथ्यमा धनुषाको जनकपुरधाममा आयोजित कार्यक्रमबीच २ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठी शनिबार सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालयको वार्षिक कार्यक्रम अनुरुप शुक्रबारदेखि उक्त गोष्ठी शुरु भएको हो ।

गोष्ठी समापनका अवसरमा गृहमन्त्री थापाले राज्यको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डताको सुरक्षा महत्वपूर्ण भएको विचार व्यक्त गर्दै राज्य तथा संविधान विरोधी गतिविधि हुन नदिन सबै सुरक्षा निकायले चनाखो भई अझ सक्रिय रुपमा काम गर्न निर्देशन दिए। धार्मिक, क्षेत्रीय, वर्गीयलगायत कुनै पनि किसिमका द्वन्द्व हुन नपाउने गरी सुरक्षा व्यवस्था मिलाउन समेत उनले सबै सुरक्षा निकायलाई निर्देशन दिए।

२ नम्बर प्रदेशमा विद्यमान शान्ति सुरक्षाको अवस्था सन्तोषजनक रहेको चर्चा गर्दै गृहमन्त्री थापाले बारा र पर्सामा हावाहुरीबाट सिर्जित विपद पीडितहरुको उद्दार र राहत कार्यमा सबै सुरक्षा निकायले देखाएको सक्रियताको सराहना समेत गरे। लागूऔषध दुव्र्यसनी, मदिरा सेवन लगायतबाट सिर्जित सामाजिक अपराध र समाजमा विद्यमान सामाजिक कुरीतिलाई न्यूनिकरण गर्ने कार्यमा नेपाल प्रहरीले कार्यान्वयनमा ल्याएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पृष्ठपोषण प्राप्त भइरहेको हुँदा यसलाई अझ सुदृढ र सबल बनाउँदै लैजानुपर्नेमा उनले जोड दिए।

समाजमा शान्ति सुरक्षा स्थापना तथा सुव्यवस्था कायम गर्नमा केन्द्रीय, प्रदेश र स्थानीय तहको समन्वयात्मक सहकार्य हुनुपर्ने बताउँदै गृहमन्त्री थापाले भष्ट्राचार नियन्त्रण गरी सुशासन प्रवद्र्धन गर्न सबै सरोकारवाला निकाय एकजुट भएर लाग्नुपर्ने बताए।

उक्त अवसरमा गृहसचिव प्रेम कुमार राईले प्रमूख जिल्ला अधिकारीहरु तथा सुरक्षा समितिका पदाधिकारीहरुले इमानदारीपूर्वक प्रचलित कानूनको कार्यान्वयन गर्ने तथा जनअपेक्षालाई सम्बोधन हुने गरी कार्य गर्नुपर्ने बताए। राष्ट्रसेवकहरु नै आमनागरिकका लागि अनुकरणीय बन्नुपर्ने बताउँदै उनले समुदाय–प्रहरी साझेदारी कार्यक्रम नेपाल प्रहरी मात्रको नभई शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि सबै सरोकारवाला निकायको साझा कार्यक्रम रहेको हुँदा कार्यक्रमलाई अझै सुदृढ र व्यापक बनाउँदै लैजानुपर्नेमा जोड दिए। कारागार, हिरासत, बालगृहलाई सुधार गर्नेतर्फ कार्य गर्न निर्देशन दिँदै गृहसचिव राईले त्यसका लागि आवश्यक पर्ने स्रोत साधन उपलब्ध गराउन गृहमन्त्रालय सदैव प्रतिवद्ध रहेको उल्लेख गरे।

गोष्ठीमा २ नम्बर प्रदेशकाका निमित्त प्रमूख सचिव कोमल बहादुर खत्रीले गोष्ठी सम्बन्धी मन्तव्य व्यक्त गरेका थिए। उक्त प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रालयका निमित्त सचिव अरुण कुमार झाले २ नम्बर प्रदेशको शान्ति सुरक्षाका बारेमा प्रस्तुतीकरण गरेका थिए।

साथै कार्यक्रमको सुरुमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार सुरक्षाविद् प्रा.डा. ईन्द्रजित राईले द्वन्द्वका विविध आयाम र द्वन्द्व समाधानका उपायका सन्दर्भमा प्रस्तुतीकरण गर्नुभएको थियो भने २ नम्बर प्रदेश अन्तर्गतका ८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा विपद व्यवस्थापन सम्बन्धी प्रस्तुतीकरण गरेका थिए।

गोष्ठीमा उक्त प्रदेशको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय, विपद तथा द्वन्द्व व्यवस्थापन एवं आगामी कार्यक्रम लगायतका विविध विषयमा छलफल, अन्तरक्रिया र प्रस्तुतीकरण समेत भएको थियो ।

उक्त गोष्ठीमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमूख गणेश अधिकारी, गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता राम कृष्ण सुवेदी, सहसचिव ईन्दु घिमिरे, २ नम्बर प्रदेश अन्तर्गत ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू लगायत सुरक्षा निकायका प्रमूखहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्