काठमाडौं, १४ वैशाख । काठमाडौं महानगरपालिकाले खुल्लामञ्चको अतिक्रमणका विरुद्ध एक्सन लिएको छ। महानगरका प्रमूख विद्यासुन्दर शाक्यको निर्देशनसँगै महानगरले खुलामञ्चमा अवैध रुपमा निर्माण गरिएको सटरमा डोजर चलाएको हो।
खुलामञ्च अतिक्रमण गरेर सटर बनाइएको भन्दै जनस्तरबाट व्यापक विरोध भएपछि काठमाडौं महानगरपालिकाले शनिबार ती पसलमा डोजर चलाउने निर्णय गरेको हो । पसल भत्काउनका लागि शनिबार डोजर परिचालन गरिएको छ । महानगर प्रहरीका प्रमूख धनपति सापकोटाले महानगरपालिकाको निर्देशनपछि खुलामञ्चमा डोजर चलाएको बताए।
महानगरपालिकाले डोजर चलाउने निर्णय गरेलगत्तै शनिबार दिउँसोदेखि महानगरीय प्रहरी पठाएर खुलामञ्चमा निर्माण गरिएका सटर भत्काउने क्रम सुरु भएको छ । महानगरपालिकाका केही कर्मचारी र ठेकेदार मनोजकुमार भेटवालको स्वच्छन्द विल्डर्सको मिलेमतोमा खुल्लामञ्च ठेक्का दिएको खुलासा भएपछि यसको चौतर्फी विरोध भएको थियो ।
विरोधपछि महानगरपालिका त्यहाँ रहेका सटरहरु भत्काउने निर्णय लिएको थियो । ठेकेदारले खुलामञ्चभित्र करिब ४० वटा सटरहरु खडा गरेर भाडामा पसल सञ्चालन गर्न दिएका थिए । गत चैत २४ गते नै मेयर शाक्यले खुल्लामञ्चको अबैध सटर भत्काउनका लागि अनुगमन रिपोर्ट मागेपनि उपमेयर हरिप्रभा खडगीले नदिएपछि रोकिएको थियो ।
उपमेयर हरिप्रभाको बदमासी खुलेपछि मेयर शाक्य एक्शनमा उत्रीएका हुन्। महानगरकै कांग्रेस निकट कर्मचारी ज्ञानेन्द्र कार्कीले ठेकेदारसँग मिलेर अवैध रुपमा काम गर्न दिएको खुलेपछि मेयरले सार्वजनिक सम्पतिमाथि व्यक्तिको रजाइँ हुन नसक्ने भन्दै भत्काउने निर्णयमा पुगेका हुन्। महानगरले डोजर चलाएर आज सबै सटर भत्काएको छ ।



लाेकपाटी न्यूज

