काठमाठौं, १४ वैशाख। दक्षिण एसियामा गत वर्षभन्दा यस वर्ष बढी मनसुनी वर्षा हुने भएको छ। मौसमी गतिविधिमा प्रत्यक्ष असर पार्ने एलनिनो र लानिनोमध्ये बढी वर्षा गराउने लानिनोको प्रभावका कारण यो क्षेत्रमा बढी वर्षा हुने विज्ञहरूले बताएका छन्।
एलनिनोको प्रभावका कारण अघिल्लो वर्षमा कम मनसुनी वर्षा भए पनि यो वर्ष पूर्ण रूपमा एलनिनोको प्रभाव नभएको र लानिनोको प्रभाव बढी भएको हुँदा मनसुनी वर्षा बढी हुने पूर्वानुमान गरिएको छ। विश्व जल तथा मौसम संगठनको दक्षिण एसिया क्षेत्रीय मञ्च (सास्कोफ) ले दक्षिण एसिया क्षेत्रमा लानिनोको प्रभाव बढी भएकाले वर्षा बढी हुने निष्कर्ष निकालेका हुन्।
आगामी मनसुनी अवस्थाको विषयमा छलफल गर्न हरेक वर्ष हुने सास्कोफ बैठकले नियमित मनसुनी वर्षाभन्दा बढी वर्षा हुने निष्कर्ष निकालेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए।
पछिल्लो समयमा मौसमी गतिविधिमा आएको परिवर्तन कारण मनसुनको समयमा एकैपटक ठूलो मात्रामा पानी पर्ने र पुनः रोकिएर केही दिन घाम लाग्ने समस्या भने कायमै रहने र यसले गर्दा वर्षाले कृषि क्षेत्रमा राम्रो गरे पनि मनसुनको समयमा बाढी पहिरोको प्रकोप बढ्न सक्ने बताए। राजधानी दैनिकमा सविन शर्माले समाचार लेखेका छन्।



लाेकपाटी न्यूज
