चितवन, १३ वैशाख। चितवनमा प्रदेशस्तरीय प्रहरी विद्यालय सञ्चालनमा आएको छ। नेपाल प्रहरीले चितवनमा प्रदेशस्तरीय प्रहरी विद्यालय सञ्चालनमा ल्याएको हो।
भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुरस्थित श्री आधारभूत विद्यालयमा प्रहरीले विद्यालय सञ्चालन गरेको छ। आधारभूत विद्यालयको २ बिघा जग्गा र कक्षा कोठा प्रहरीलाई प्रदान गरिएको छ। सो विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीलाई कक्षा ५ सम्म प्रहरीले नै निःशुल्क पढाउने छ।
शुक्रबारबाट कक्षा सञ्चालन गरिएको विद्यालयका प्रहरी निरीक्षक धर्म अधिकारीले जानकारी दिए। कक्षा १ देखि ५ सम्म २ सय ५३ जना विद्यार्थी भर्ना भएका छन्। प्रहरी परिवारका २९ जना विद्यार्थी छन् भने बाँकी सबै नागरिकका बालवच्चा भर्ना भएका छन्। कक्षा १ र ३ मा दुई-दुई सेक्सन रहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए। विद्यालयमा १५ जना प्रहरी र १० जना शिक्षक रहेका छन्।
विद्यालयमा विद्यार्थी ल्याउन र लैजान दुईवटा बस दैनिक भाडा तिर्ने गरी लिइएको अधिकारीले बताए। विद्यालयमा ६० प्रतिशत प्रहरी कर्मचारी र ४० प्रतिशत स्थानीय नागरिकका छोराछोरी भर्ना गरिने छ। महानगरसँग सम्बन्धित वडा र छिमेकका २० प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने सम्झौता भएको छ । प्रदेशस्तरीय प्रहरी स्कुल हाल कक्षा ५ सम्म सञ्चालन गरिने छ।
हरेक वर्ष कक्षा थप गर्दै १२ सम्म पढाउने उद्देश्यका साथ स्कुल खोलिएको अधिकारीले बताए । एउटा कक्षामा ३० जनाको दरले सुरुवातमा एक सय ५० जनालाई पढाउने लक्ष्य भए पनि विद्यार्थीको चाप अधिक भएको प्रहरी निरीक्षक अधिकारीको भनाइ छ। प्रहरीले चलाएको यो नवौँ स्कुल हो। विद्यालय सञ्चालनका लागि गत चैत १ गते नेपाल प्रहरी र भरतपुर महानगरपालिकाबीच सम्झौता भैसकेको छ।
सम्झौताको अनुमोदन महानगरपालिका कार्यपालिका बैठकले गरिसकेको छ । विद्यालयमा ६० प्रतिशत प्रहरी कर्मचारी र ४० प्रतिशत स्थानीय नागरिकका छोराछोरी भर्ना गरिने छ। महानगरसँग सम्बन्धित वडा र छिमेकका २० प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने, पाँच लाखको अक्षयकोष स्थापना गरी त्यस क्षेत्रका गरिब जेहेन्दार विद्यार्थीलाई अन्य स्कुलमा पढ्दा छात्रवृत्ति दिने सम्झौता भरतपुर महानगरपालिकासँग भएको छ।
प्रहरी कल्याण कोष अन्तर्गत विद्यालय निर्माणका लागि प्रहरीले १५ करोड खर्च गर्ने योजना बनाएको छ। विद्यालयमा प्रहरी व्यारेक, आवासीय भवन, खेल मैदान, अत्याधुनिक विद्यालय भवन रहने गरी प्रहरी प्रधान कार्यालयले योजना बनाएको छ। ‘फेजबाइज रुपमा निर्माणको काम अघि बढ्छ,’ एसएसपी दीपक थापाले भने, ‘पहिलो चरणमा ५ करोड खर्च गर्छौं, साउनबाट काम सुरु हुन्छ।’
प्रहरी विद्यालयको गुरुयोजना अनुसार यस वर्ष दिवा कक्षामात्र सञ्चालन गरिने छ भने अर्को वर्षबाट आवासीय सुविद्यासमेत विद्यार्थीले प्राप्त गर्नेछन्। प्रहरी एसएसपी थापाका अनुसार स्थानीय गरिब र अल्पसंख्यक जनजातिका बालबालिकाहरुले पाँच वर्षसम्म निःशुल्क अध्ययन गर्न पाउने छन्।



लाेकपाटी न्यूज
