पोखरा, १३ वैशाख। मोतीमाया पौडेल १७ वर्षदेखि बेपत्ता छोरो अझै फर्केर आउने आशामा बाटो कुरेकी छिन्।
राज्य विरुद्ध बन्दुक उठाएको तत्कालीन नेकपा माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीका केन्द्रीय महासचिव पूर्ण पौडेल २०५९ देखि बेपत्ता छन्। छोरा पूर्णको शुक्रबार भएको खोजीसभामा मोतीमाया युवा विद्यार्थीसँगै नारा लगाउँदै थिइन्।
छोरा पूणलाई ०५९ वैशाख १३ गते बेलुका काठमाण्डौंको कालिमाटीबाट सुरक्षाकर्मीले पक्रेका थिए। अखिल क्रान्तिकारी गण्डकी र अनेरास्ववियु गण्डकीले शुक्रबार संयुक्त रुपमा खोजसभा गरेका हुन्। सभाअघि दिँउसै लाइट बालेर बेपत्ता पूर्ण पौडेलसहित सबैको अवस्था सार्वजनिक गर्न माग गरेका थिए।
मोतीमायाले सभामा सहिद, बेपत्ताकै त्यागबाट सरकारमा पुगेकाहरुले सहिद र बेपत्ताको कदर गर्न नसकेको बताइन्।
उनले भनिन्, मेरो छोरो आउँछ भन्ने आश छ, नेताहरुले तुरुन्त सार्वजनिक गराउनुपर्छ।’
अखिल क्रान्तकारी गण्डकी अध्यक्ष क्षितीज सापकोटाले जुन पार्टीमा लागेर हजारौं योद्धा बेपत्ता भए, उसैको दुई तिहाइको सरकार हुँदा पनि अवस्था सार्वजनिक नहुनु दुखद भएको बताएका थिए। उनले भने, हाम्रै पार्टीको २ तिहाइको सरकार छ, प्रतीक्षा धेरै भयो, अवस्था सार्वजनिक हुनुपर्छ।’
कार्यक्रममा नेकपा नेता तेजकुमारी पौडेल, विद्यार्थी नेता अमरदीप पराजुलीले बेपत्ताहरुको अवस्था चाँडै सार्वजनिक गर्न माग गरे।



लाेकपाटी न्यूज

