सामुदायिक विद्यालयमा मोबाइल फोन निषेध

phone
लाेकपाटी न्यूज

काठमाडौं, १३ वैशाख। सामुदायिक विद्यालयको गुणस्तरअझै माथि उकास्न सकेको छैन्। केही सामुदायिक विद्यालय निजी विद्यालयभन्दा अब्बल भए पनि प्राप्त नतिजा र गुणस्तर हेर्दा सामुदायिक विद्यालयभन्दा निजी विद्यालय नै अग्र पङ्क्तिमा आँउछ।

सामुदायिक विद्यालयमा शिक्षकले अनुशासित भएर नपढाएकाले शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको धेरैको आरोप छ। समयमै विद्यालय नपुग्ने, विद्यालय समय अवधिभर नबस्ने, कक्षाकोठा भित्रै मोबाइल फोन उठाएर कुराकानी गर्ने प्रवृत्ति शिक्षकको छ ।

पाल्पा रामपुर नगरपालिका ४ देवीस्थानस्थित कालिका आधारभूत विद्यालयले यसै शैक्षिक सत्रदेखि विद्यालय समयमा मोबाइल फोन प्रयोगमा निषेध गरेको छ। विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ र शिक्षक कर्मचारीको सहमतिमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म कुनै पनि शिक्षक वा कर्मचारीले मोबाइल फोन प्रयोग गर्न नपाउने नियम लागू गरिएको हो।

शैक्षिक गुणस्तर वृद्धि गरी नमूना विद्यालयका रुपमा चिनाउन विद्यालयले शुरु गरेको यो कार्यप्रति सरोकारवालाले प्रशंसा गरेका छन्। अन्य विद्यालय पनि मोबाइल फोन प्रयोग प्रतिबन्ध गर्ने तयारीमा छन्। कक्षाकोठाभित्रै शिक्षकले मोबाइल फोनको प्रयोग गर्दा शैक्षिक गुणस्तर खस्किँदै गएको अभिभावकका गुनासो आएपछि विद्यालय समयभित्र मोबाइल फोनको प्रयोग निषेध गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तराम ठाडाले बताए। ‘

भर्ना अभियानको क्रममा घरदैलो गर्दा कक्षा कोठाभित्रै शिक्षण कार्य रोकी शिक्षक फोन उठाएर आनन्दले कुराकानी गरेर बस्छन्, विद्यार्थीले के सिक्छन् ?, अन्य विद्यालयमा भर्ना गराउने कुरा अभिभावकले गरेकाले तत्काल समितिको बैठक बसेर यस्तो निर्णय गरेका हौँ,’ अध्यक्ष ठाडाले भने ।

यसमा सरोकार भएका पक्षको सहमतिमा शैक्षिक सत्रको शुरुआतमै मोबाइल फोन विद्यालय समयभित्र निषेध गर्ने कार्य शुरु गरिएको उनको भनाइ छ। अति आवश्यक काम परे प्रधानाध्यापकको मोबाइलबाट शिक्षकलाई अनूकुल समय मिलाएर कुरा गराउने व्यवस्था मिलाइएको छ। खाजा खाने समयबाहेक अरु समय मोबाइल फोन प्रधानाध्यापकको निगरानीमा राख्ने व्यवस्था गरिएको प्रधानाध्यापक सोमबहादुर सेनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्