हिमाली जिल्लामासमेत देखियो औलो रोग, कसरी बच्ने ?

Aaulo-Rog-12019-04-23.jpeg02
लाेकपाटी न्यूज

काठमाडौं, १३ वैशाख। लामखुट्टेको टोकाइबाट सर्ने औलो रोग तराई हुँदै हिमाली जिल्लामा समेत देखिन थालेको छ।

नेपालले सन् २०२५ सम्म औलो रोग निवारण गर्ने लक्ष्य लिए पनि हिमाली जिल्लामा फैलिएको औलो र भारत लगायत मुलुकबाट कामदारले ल्याएको आयातित औलोका कारण सो रोग निवारणमा कठिनाइ देखिएको हो।

लक्ष्य अनुसार पाँच वर्षअघि नै औलोबाट मृत्यु हुनेको संख्या शून्यमा झार्नुपर्ने थियो तर बर्से्नि यो रोगबाट मानिसको मृत्यु भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत वर्ष मात्रै एक हजार १८७ जना व्यक्तिलाई औलो लागेको प्रमाणित भएको थियो। विगत वर्षभन्दा यो सङ्ख्या धेरै हो।

आर्थिक वर्ष २०७३-०७४ मा एक हजार १ सय २८ जनामा औलो रोग लागेको थियो। आ.व. २०७२÷०७३ मा ९ सय ९१ जना व्यक्ति औलो रोगको चपेटामा थिए। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले सन् २०२५ सम्ममा औलो रोग निवारण गर्न कठिनाई भएको बताए।

उनले औलो सार्ने लामखुट्टे तराईबाट पहाड हुँदै हिमालमा समेत देखा परेकाले कठिनाई उत्पन्न भएको बताए। उनले औलो निवारणका लागि सरकारले औलो खोजपड्ताललाई चुस्त दुरुस्त पारी औलो सर्ने दरलाई घटाउनुपर्ने भन्दै औलोको गुणस्तरीय निदान र प्रभावकारी उपचारमा समेत पहुँच बढाउनुपर्ने बताए।

पछिल्लो समय हिमाली जिल्ला मुगु, मुस्ताङ, बाजुरा, हुम्ला लगायत जिल्लामा औलो रोग फैलिएको छ। डा. लाललेभने, “हिमाली जिल्लामा अत्यन्त पातलो बस्ती हुने भएकाले लामखुट्टे नियन्त्रणमा कठिनाइ भएको छ।”
उनले हिमाली क्षेत्रसँगै भारत लगायत मुलुकबाट आउने बिरामीबाट सर्ने आयातित औलो निवारणमा प्रमुख चुनौती देखापरेको बताए।

भारतसँग खुला सिमानाका कारण औलो रोगी बढेको भन्दै उनले भारतमा लामखुट्टे नियन्त्रण गर्दा नेपालमा नियन्त्रण नहुने र नेपालमा हुँदा भारतमा नहुने समस्या रहेको बताए। गोरखापत्रमा सरोज ढुंगेलले समाचार लेखेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्