‘धरहरा निर्धारित मितिमै बन्छ’

Gajurel
लाेकपाटी न्यूज

काठमाडौं, १२ वैशाख। साहित्यकार तथा ‘म बनाउँछु मेरो धरहरा’ का अभियन्ता ध्रुब गजुरेलले धरहरा पुनः निर्माणको लागि भएका प्रयासहरुको बारेमा प्रकाश पारेका छन ।

आफुले साहित्य लेखनको माध्ययमबाट धरहरा निर्माणको लागि करोडौं रकम संकलन गरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको माध्ययमबाट सरकारलाई बुझाईसकेको पनि उनले जानकारी गराए। संसरमा ९ रेक्टर स्केलभन्दा माथिका धेरै पराकम्पबाट नागरिकले ठूलो जनधनको क्षति व्यहोरिसकेको जानकारी गराउँदै उनले नेपालले पनि ७ रेक्टर स्केलका पराकम्पहरुले ठुलै क्षति गराएपनि इतिहासले आफूहरुलाई पाठ पनि सिकाएको उनको भनाई छ ।

निर्माणाधिन धरहरा भुकम्प प्रतिरोधात्मक र सुरक्षित बन्नुपर्ने भन्दै उनले प्रकाशनमा ल्याएका पुस्तक ‘ईतिहाँसमा २०७२’ र ‘ऋतु’ बाट संकलन भएको सम्पुर्ण रकमपनि धरहरा निर्माणमा लगाईने विश्वास दिलाए । धरहरा निर्माणकै लागि आफुहरुले ‘हनुमानको नेपाल यात्रा’ र धरहरा बनाउने देउसी कार्यक्रमको भिडियोबाट पनि केही रकम संकलन गरेको उनको भनाई थियो ।

२०७२ सालमा देशले थुप्रै संघर्ष गरेका कारणपनि त्यस वर्षदेखि धरहरा सम्बतको सुरुवात भएको उनले जनाए । संविधान जारी हुँदा भोगेको संकट, भारतीय अघोषित नाकाबन्दी, तराई आन्दोलन र महाभूकम्पको पीडाले धरहरा सम्बतको शुरुवात भएको उनको भनाई थियो ।

सत्तारुढ दल नेकपाका नेता एवम् प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले अब बन्ने धरहरा नमुनाकै रुपमा निर्माण गरिनुपर्ने धारणा व्यक्त गरेका छन् । रिपोटर्स क्लवमा आयोजित एक कार्यक्रममा बोल्दै मानन्धरले विनाशनै विकासको जननी भएको कारण अब बन्ने धरहरा नमुनाकै रुपमा निर्माण गरिनुपर्ने बताएका हुन् ।

देशमा निर्माणाधिन आयोजनाहरुको निर्माण कार्यमा ढिलासुस्ती देखिँदै आएपनि धरहरा निर्माणको लक्ष्य सरकारले समयमै सक्नुपर्ने उनको धारणा छ । विनाशले ल्याएको विकासमा आफुहरु सबैले सहयोग गर्नुपर्ने बताउँदै उनले भने, ‘चीनले १९ दिनमा ६४ तले भवन निर्माण सम्पन्न गरेर देखायो ।’आफुहरुलेपनि चीनको विकासबाट पाठ सिक्न आवश्यक रहेको सांसद मानन्धरको भनाई छ। सरकारले ठेकेदारलाई जिम्मेवारी दिईसकेकोे कारण पनि अब पुनः निर्माण कार्य समयमै सम्पन्न हुनुपर्ने उनले बताए ।

यस्तै कार्यक्रममा बोल्दै डा.नारायणहरि गजुरेलले २०७२ सालको बिनासकारी भूकम्पको समयमा नेपालीहरु पीडामा रहेको बेला ध्रुब गजुरेलले शोकलाई शक्तिमा बदल्ने प्रणस्वरुप धरहरा निर्माणको अभियानमा लाग्नुले आज धरहरा निर्माण कार्य अघि बढेको स्पष्ट पारे ।

नयाँ सम्बतको घोषणा र साहित्यको माध्ययमबाट धरहरा सम्बतलाई निरन्तरता दिईराख्न आवश्यक रहेको पनि उनले जानकारी गराए । साहस बोकेर सम्पदाको निर्माणमा लागेको भन्दै उनले आज सार्वजनिक गरिएको ‘धरहरा सम्बत भित्ते पात्रो’ ले ०७२ सालमा घटेका घट्नाहरुको बारेमा जानकारी दिन खोजेको स्पष्ट पारे ।

त्यस्तै धरहरा निर्माण कार्यमा लागेका रमन कन्ट्रक्सनका प्रोप्राईटर रमन महतोले निर्माणाधिन धरहराको कार्य प्रगति र आगामी ओजनाको बारेमा जानकारी गराएका छन । आफु सरकारको ‘मेरो धरहरा, म बनाउँछु’ भन्ने अभियानमा लागेको बताउदै उनले सरकारसंगको आधिकारिक सम्झौतापश्चात् धरहरा निर्माण कार्यको प्रगति रहेको विश्वास दिलाए ।

प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुसंगको छलफल सम्पन्न भईसकेको र वरिपरिको सडकको बारेमा पनि छलफलकै माध्यमबाट समस्याको सामाधान निस्किसकेको उनले सुनाए । महतोले आगामी दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने आफुहरुको लक्ष्य रहेको र निर्धारित मितिमै लक्ष्य पूरा हुने विश्वास दिलाए ।

करिब ४२ रोपनी क्षेत्रफलमा फैलिएको योजनाअनुरुप अबको दुई तीन महिनाभित्र हाल रहँदै आएको गौशारा हुलाकको कार्यालयपनि स्थानान्तरण भईसक्ने भएका कारण आफुहरुलाई थप मार्गप्रशस्त हुने उनको भनाई छ ।प्रस्तावित २२ तले भवनको फाउन्डेसनको कार्य सम्पन्न भईसकेको पनि उनले जानकारी गराए । अबको धरहरा जनसंख्याको बृद्धिलाई मध्येनजर गरेर निर्माण गरिने भएका कारणपनि यसमा अत्याधुनिक सुविधामा जोड दिईने उनको भनाई छ ।

कुल तीन अर्ब ४५ करोडको लागतमा निर्माण हुने आयोजनालाई अबको दुई वर्षमा सम्पन्न गरिसक्ने आफ्नो लक्ष्य रहेको उनले जानकारी गराए । करिव दुई हजार वर्षसम्म टिक्न सक्ने उक्त टावरले ९ रेक्टर सम्मको भुकम्पको कम्पन सहन सक्ने उनको दाबी रहेको छ ।

त्यस्तै कार्यक्रममा बोल्दै कालिकाशरण माबिका प्राध्यानाध्यापक गोपालप्रसाद गजुरेलले कृतिको माध्ययमले नेपालका सम्पदाको पुनः सिर्जनामा सबैको सहयोग पाएकोमा आफुलाई खुशि लागेको धारणा राखे ।
देशले दुःख र पीडा बोकिरहेको समयमा यस्तो सोच र साहसको कदर सबै नेपालीमा रहे विकासको कार्यमा नयाँ आयाम थपिने उनको भनाई छ ।

नेपालको इतिहास बोकेको धरहरा सबैको साझा सम्पत्ति रहेको बताउदै उनले पहिला ९ तले बन्ने भनेको धरहरा अहिले आएर २२ तले बनाउने अभियानमा पनि आफुहरुको ठुलो प्रयास रहेको उनको भनाई छ ।

धरहरा सम्बतको अवसरमा निकालिएको क्यालेन्डरलाई सबै नेपालीसमक्ष पुर्याई सम्बतको बारेमा जानकारी गराउन पनि आवश्यक रहेको उनको भनाई रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्