काठमाडौं, १२ वैशाख । उत्तर कोरियाली नेता किम जोन उन र सियाका राष्ट्रपति भ्लादिमिर पुटिनबीच शिखर वार्ता भएको छ ।
बिहीबार रसियाको सुदूर पूर्वी शहर भ्लादिवोस्तोक नजिकैको रस्की टापुमा दुई नेताबीच शिखर वार्ता भएको हो । उनीहरुबीच कोरियाको आणविक निशस्त्रीकरणबारे छलफल भएको छ । यसअघि उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पसँग पनि कोरियाली निशस्त्रीकरणबारे छलफल गरेका थिए ।
तर ट्रम्पसँगको दोस्रो वार्ता असफल भएपछि उनले रसियाली राष्ट्रपतिसँग वार्ता गरेका छन् । पुटिनसँगको वार्ताबाट किमले उत्तर कोरियाको आणविक कार्यक्रमबारे छलफल गर्ने एकमात्र शक्ति अमेरिकामात्र होइन भन्ने सन्देश दिएका छन् । वार्ताका क्रममा दुई नेताले आपसी सम्बन्ध अझै प्रगाढा बनाएर अघि बढ्ने बताएका छन् । पहिलो शिखर वार्ता सुरु हुनुअघि उनीहरुले सञ्चार माध्यमको अगाडि छोटो प्रतिक्रिया दिएका थिए ।
रसियाली राष्ट्रपति पुटिनले कोरियाको तनाव हटाउन आफूले सहयोग गर्ने बताए । उनले भने,‘म ढुक्क छु, तपाईको रसिया भ्रमणका क्रममा कोरियाली प्रायद्विपको समस्या समाधानबारे राम्रोसँग बुझ्न सकिन्छ र हाल चलिरहेको प्रक्रियामा रसियाले कसरी सकारात्मक सहयोग गर्न सक्छ भन्ने विषयमा पनि छलफल गर्न सकिन्छ।’
किमले रसियासँग घनिष्ट र दिगो सम्बन्ध रहेको चर्चा गर्दै दुई देशबीचको सम्बन्ध अझै विकसित गर्न यो वार्ता निकै फलदायी हुने आफूले विश्वास लिएको बताए ।



लाेकपाटी न्यूज

