किन मागे श्रीलङ्कन राष्ट्रपतिले प्रहरी प्रमुख र रक्षा सचिवको राजीनामा ?

Maitripala
लाेकपाटी न्यूज

काठमाडौं, १२ वैशाख । श्रीलङ्काका राष्ट्रपतिले प्रहरी प्रमुख र रक्षा सचिवको राजीनामाको मागेका छन् । श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रहरी प्रमुख र रक्षा सचिवको राजीनामा मागेका हुन् ।

गत आइतबार भएका श्रृंखलावद्ध बम आक्रमण रोक्न पहल नगरेको भन्दै राष्ट्रपति सिरिसेनाले उनीहरुको राजीनामा मागेका छन्। बम आक्रमण हुँदैछ भन्ने पूर्वसूचना पाए पनि सरकारलाई जानकारी नदिइएको उनको आरोप छ । बम आक्रमणपछि अनुसन्धानकर्ताहरुले १० दिन अगाडि नै गुप्तचरहरुले बम आक्रमणको योजना बनेको पूर्व सूचना दिएको थाहा भएको थियो ।

गत आइतबार श्रीलंकाका चर्च र होटलहरुमा भएका श्रृंखलावद्ध बम विष्फोट हुँदा ३ सयभन्दा बढीको मृत्यु भएको थियो । समाचार एजेन्सी रोयटर्सले स्रोतलाई उद्धृत गर्दै लेखेको समाचारअनुसार राष्ट्रपति सिरिसेनाले कठोर कदम चाल्दै रक्षा सचिव हेमासिरि फर्नान्डो र प्रहरी प्रमुख पुजिथ जयसुन्दरालाई राजीनामा दिन भनेका छन् । तर, उनीहरुले राजीनामा दिए(नदिएको भने खुलेको छैन ।

गत मंगलबार राष्ट्रिय शोक मनाउने क्रममा सम्बोधन गर्दै राष्ट्रपति सिरिसेनाले यस्तो जघन्य अपराधमा जो जिम्मेदार भए पनि उसलाई सजायँ दिने घोषणा गरेका थिए ।

यो आक्रमणपछि देशको सुरक्षा व्यवस्था र गुप्तचर निकाय विफल भएको टिप्पणी गर्दै उनले सुरक्षा निकायका प्रमुख परिवर्तन गर्ने बताएका थिए ।