विनासकारी भूकम्पको चार वर्ष, कस्तो रह्यो पूनर्निर्माणमा प्रगति ?

reconstruction earthquick
लाेकपाटी न्यूज

काठमाडाैं, १२ वैशाख । आज वैशाख १२ अर्थात विनासकारी भूकम्प गएको चार वर्ष पुगेको छ । २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको थियो ।

चार वर्ष अघि गोरखाको बारपाक केन्द्र भएर गएको उक्त ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परि करिब ९ हजारले ज्यान गुमाएका थिए भने हजारौँ घाइते भएका थिए। भूकम्पले लाखौँ भौतिक संरचनामा क्षति पुगेको थियो। पूनर्निर्माणमा ढिलासुस्ती हुँदा भूकम्पले घरबास गुमाएका ५० प्रतिशत नागरिक अझै पनि अस्थायी टहरामै छन्।

राष्ट्रिय पूनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पले घरबास गुमाएका ७ लाख ६२ हजार तीन सय ७ परिवारले निजी आबास पूनर्निर्माणको लागि अनुदान सम्झौता गरेका थिए। निजी आवास निर्माणको लागि सरकारले तीन लाख रुपैयाँ आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ।

भूकम्पले क्षति पुगेका निजी आबासमध्ये हालसम्म तीन लाख ८२ हजार २ सय ७७ परिवारको मात्रै घर पूनर्निर्माण सकिएको छ। दुई लाख २० हजार ६ सय ५८ घरको पूनर्निर्माण चलिहरको छ। भूकम्पले भत्किएका झण्डै २० प्रतिशत घरको पूनर्निर्माण अझै सुरु भएको छैन।

पूनर्निर्माण गर्नुपर्ने सात हजार पाँच सय ५३ विद्यालयमध्ये चार हजार चार सय ७६ वटाको मात्रै पुनर्निर्माण सकिएको छ। त्यसैगरी भूकम्पले क्षतिग्रस्त सात सय ८८ स्वास्थ्य संस्थामध्ये हालसम्म ६४३ वटाको मात्रै पूनर्निर्माण सकिएको छ। एक सय ४५ स्वास्थ्य संस्था अझै पूनर्निर्माणकै क्रममा छन्। क्षतिग्रस्त चार सय ४५ प्राचिन सम्पदामध्ये हालसम्म दुई सय २४ सम्पदाको मात्रै पूनर्निर्माण सकिएको छ। बाँकी दुई २१ सम्पदा अझै पूनर्निर्माणकै क्रममा छन्।

पूनर्निर्माणमा अहिलेसम्म तीन सय नौ अर्ब रुपैयाँ खर्च भइसकेको छ । पूनर्निर्माण सक्न अझै ६ सय २९ अर्ब रुपैयाँ आवश्यक पर्ने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्