ललितपुर, ११ वैशाख। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लातहको एकतापछि अब देशव्यापी जागरण अभियान शुरु हुने बताएका छन्। उनले एकताको सन्देश दिन तथा जनतासँग पार्टीको सम्वन्ध अझै घनिष्ठ बनाउन देशव्यापी जागरण अभियान चलाउने बताएका हुन्।
बुधबार ललितपुरको सिद्धिमंगल माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस एवं नयाँ भवन हस्तान्तरण कार्यक्रममा उनले अहिलेसम्म विकासले सोचेअनुरुपको गति हासिल गर्न नसकेपनि चार वर्षभित्र चुनावी प्रतिवद्धता पूरा गर्ने समेत स्पष्ट पारे। उनले नेकपालाई जडसूत्रवादी र अवसरवादी कम्युनिस्ट पार्टी नभएको स्थापित गर्न अभियान चालिनेसमेत स्पष्ट पारे।
‘नेपाली जनताले कम्युनिस्ट पार्टीको नेतृत्वमा जे देखेका छन्, कम्युनिस्ट पार्टी जडसूत्रवादी होइन र अवसरवादी होइन भनेर स्थापित गर्नुछ’, प्रचण्डले भने, ‘एकतालाई नयाँ स्थितिमा अगाडि बढाएर जनतामा के होला के होला भन्ने स्थितिको अन्त्य गरेका छौँ। अब अभियान लिएर जिल्ला जिल्लामा जाँदैछौँ।’
पार्टीको जिल्ला र केन्द्रीयस्तरमा अधिवेशन गर्ने र जनतासँगको सम्बन्ध सुदृढ बनाउने प्रचण्डको भनाइ थियो। ‘हामीभित्र शुद्धीकरण र सुदृढीकरणको अभियानको नेतृत्व गर्ने तयारीमा हामी छौँ’ उनले भने।
पार्टीले जिल्ला कमिटीमा एकता गरेर जनतामा हौसला बढाएको बताउँदै भने, ‘विकास निर्माणका कामले जति गति लिनुपर्ने हो, त्यति लिन सकेको छैन। आउने चार वर्षमा हामीले नेपाली जनताका अगाडि जे संकल्प र प्रतिबद्धता गरेका छौँ र जतनताले जुन भरोसा गरेर मत दिएका छन् त्यसलाई गति दिने जिम्मेवारी हाम्रो काँधमा छ।’



लाेकपाटी न्यूज

