बुटवल, ११ वैशाख। विद्युतीय धरापमा परेर बुटवलमा एक युवाको मृत्यु भएको छ। बँदेललाई थापेको विद्युतीय धरापमा परेर युवकको मृत्यु भएको हो।
तिलोत्तमा नगरपालिका ११ भुपु सैनिक टोलका ४० वर्षका मीनबहादुर गौतम १० दिनदेखि वेपत्ता भएकोमा बुधबार बिहान प्रहरीले गौतमको मृत्यु बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर भएको रहस्य पत्ता लगाएको हो।
विद्युतीय धरापमा परेर बँदेल मार्न एकसाथ गएका साथीको विद्युतीय धरापमा परेर ज्यान गएपछि घटना लुकाउन शब गाड्न खोज्ने पाँच जनालाई समेत प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा तिलोत्तमा नगरपालिका ११ भूपू सैनिक टोलका २६ वर्षका उपेन्द्र शाह, ३५ वर्षका नरबहादुर पुन, ३५ वर्षकै चन्द्रबहादुर थापा, २८ वर्षका कृष्ण राना र ४० वर्षीय अमर पुन रहेका छन्।उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ।
प्रहरीका अनुसार गत वैशाख १ गते राति गौतमसहित स्थानीय ५–६ जनाको समूह गाउँ छेउको जंगलमा बँदेल मार्न भन्दै विद्युतीय धराप थाप्न गएका थिए। गते राति २ बजेतिर मृत्यु भएपछि संगै गएका साथीहरुले घटनालाई लुकाउन अर्को दिन देवदह ९ मा पर्ने जंगलमा खाडल खनेर पुरेको प्रहरीले जनाएको छ।



लाेकपाटी न्यूज
