विभिन्न अभियोगमा सात पक्राउ (नामसहित)

Arrest
लाेकपाटी न्यूज

काठमाडौं, ११ वैशाख । ठगी मुद्दामा फरार प्रतिवादी बाग्मती बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सदस्य कीर्तिपुर नगरपालिका–१३ बस्ने ३८ वर्षीय कृष्ण कुवँरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर जिल्ला अदालतबाट २०७३ फागुन ११ गतेको फैसलाले ठगी मुद्दामा १ वर्ष कैद तथा ६ लाख २८ हजार ६ सय ९ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका कृष्णलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले भक्तपुर ठिमीबाट फेला पारी पक्राउ गरेको हो । कृष्णलाई ललितपुर जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुर पठाएको छ ।

काठमाडौं महानगरपालिका–९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट करिब १ सय ५० ग्रामको सुन जस्तो देखिने पहेंलो बाला ३ थान सहित रामेछाप खाँडादेवी गाउँपालिका–४ घर भएका २२ वर्षीय कामेदेव मगरलाई मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । विशष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले जाचँ गर्ने क्रममा उक्त बालासहित मगरलाई फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिम्मुरे घट्टेखोलास्थित रोकी राखेको ना.६ ख ९०६८ नम्बरको स्याउ लोड गरेको कन्टेनर ट्रकबाट प्रत्येक १ किलो लेखिएको सुन जस्तो देखिने पहेंलो धातु ७ थान सहित ट्रक चालक नौकुण्ड गाउँपालिका–१ बस्ने ३० वर्षीय शेर ग्याल्बो घलेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सीमा प्रहरी चौकी टिमुरे र सशस्त्र प्ररही बल भन्सार सुरक्षा गुल्म टिमुरेबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उक्त कन्टेनर जाँच गर्दा क्याविनको बाँयातर्फको सिलिङको बत्तीभित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको धातु फेला पारी घलेलाई पक्राउ गरेको हो ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट सिराहा गोलबजार गाउँपालिका–७ घर भएका १५ वर्षीय सरोज गुप्तालाई अवैध लागूऔषध ब्राउन सुगर १.५ ग्राम सहित फेला पारी मंगलबार दिउसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख २२९१ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार गुप्तालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ स्थित कैलाली जानकी गाउँपालिका–५ पथरैया बस्ने १९ वर्षीय खेमराज जैशीलाई ९ ग्राम ब्राउन सुगर र बाँके बैजनाथ गाउँपालिका–२ बस्ने १८ वर्षीय अर्जुन बिकलाई नियन्त्रित लागूऔषध नाईट्रोभेट २० ट्याबलेटसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

वीरगंज महानगरपालिका–८ बस्ने १९ वर्षीय उत्तम गुप्तालाई चोरी गरेका सुनका गरगहनासहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । गत सोमबार राति वीरगंज महानगरपालिका १५ भिष्वा बस्ने शैलकुमार सिंहको घरबाट सुनको झुमका एक जोर, कानमा लगाउने सुनको टप एक जोर, सुनको औंठी एक थान, घडी एक थान, मोबाईल एक थान चोरी भएको घटनामा संलग्न अभियुक्तको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका ८ ब्रहम चोकस्थित सडकमा गुप्तालाई चोरी भएका उक्त सुनका गरगहना सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै खड्क नगरपालिका–१० इनर्वाफुलबडिया बस्ने ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही स्थान बस्ने ४२ वर्षीय लाल मोहमद मियालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सोही स्थानमा रहेको फुलेश्वर इँटाभट्टाको कम्पाउण्डभित्र कोही नभएको अवस्थामा गत बैशाख ६ गते मियाले ती महिलालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले मियालाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक खोज तथा अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्