सर्‍यो कांग्रेसको जनजागरण अभियान, कहिले हुन्छ ?

लाेकपाटी न्यूज

काठमाडौं, ११ वैशाख । बुधबारबाट हुने भनिएको ‘जनजागरण अभियान’ मिति सरेको छ । ‘जनजागरण अभियान’ नेता रामकृष्ण ताम्राकारको निधनका कारण पछि सारेको हो।

मंगलबार बसेको आकस्मिक केन्द्रीय समिति बैठकमार्फत देशभर एकसाथ सुरु गर्ने भनेको जागरण अभियान कार्यक्रम मिति परिवर्तन भएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले नेता ताम्रकारको निधनका कारण पार्टीले पूर्वनिर्धारित कार्यक्रम मिति परिवर्तन गरेको बताए । ‘नेता रामकृष्ण ताम्राकारको निधनका कारण पूर्वनिर्धारित जनजागरण कार्यक्रमको मिति परिर्वतन गरिएको हो,’ उनले भने, ‘आगामी २५ वैशाखबाट देशभर एकसाथ कार्यक्रम शुरु हुनेछ ।’

कांग्रेसद्वारा आकस्मिक बैठकपछि जारी विज्ञप्तिमा ‘कांग्रेसका पूर्वकोषाध्यक्ष एवं पूर्वमन्त्री ताम्राकारको असामयिक र दुःखद निधन भएकाले उहाँप्रति गहिरो शोक प्रकट गर्दै बुधबार वैशाख ११ गते देशभर एकसाथ प्रारम्भ गर्ने भनिएको हिमाल, पहाड, तराई–मधेस, नेपाली कांग्रेस राष्ट्रिय जागरण अभिया’को प्रथम चरण अन्तर्गतको एकमहिने कार्यक्रमको मिति परिवर्तन गरिएको’ उल्लेख छ ।

कांग्रेसले जागरण कार्यक्रम आगामी २५ वैशाखबाट प्रारम्भ भई २५ जेठसम्म देशभरका सबै जिल्लामा पूर्ववत् रूपमा सञ्चालन हुने जनाएको छ । त्यस्तै, पूर्वनिर्धारित दोस्रो तथा तेस्रो चरणका कार्यक्रम भने यथावत् रहने कांग्रेसले
बताएको छ ।

रूपन्देहीबाट कांग्रेस राजनीति गर्दै आएका ताम्राकार पटकपटक मन्त्रीसमेत बनेका थिए । अघिल्लो साता ताम्राकारको स्वास्थ्यस्थिति गम्भीर भएपछि आईसीयूमा भर्ना गरिएको थियो । निमोनियासमेत भएका उनको स्थिति अझ गम्भीर भएपछि भेन्टिलेटरमा राखिएको थियो । ललितपुर एकान्तकुनास्थित अल्का अस्पतालमा उपचारक्रममा उनको निधन भएको हो ।