राष्ट्रपति भण्डारी राजकीय भ्रमणका लागि चीन प्रस्थान

Biddha
लाेकपाटी न्यूज

काठमाडौं, ११ वैशाख। राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका लागि बुधबार उत्तरी छिमेकी मुलुक चीन प्रस्थान गरेकी छिन्।

राष्ट्रपति भण्डारी बुधबार विहान ११ बजे नेपाल बायुसेवा निगमको बिमानमार्फत चीनको सियान प्रस्थान गरेकी हुन्।
सियानबाट उनी बेइजिङ जाने कार्यक्रम तय भएको छ। चीनको राजकीय भ्रमणका क्रममा नेपालले रेलदेखि सुरुङमार्गसम्मका परियोजनामा चीनियाँ अनुदान ल्याउने प्रयास गर्ने भएको छ।

राष्ट्रपति भण्डारीको चीन भ्रमणका लागि नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआइ) सम्बन्धी परियोजनाका ९ वटा सूची तयार पारेको छ। नेपालका तर्फबाट सुरुमा ३५ परियोजना पेस भएकोमा प्राथमिकताका आधारमा १० भन्दा कममा झार्न चीनले सुझाव दिएपछि नेपालले ९ वटा सूची तयार गरेको हो।

जसमा ल्हासादेखि काठमाडौंसम्मका अन्तरदेशीय विद्युत प्रसारण लाइन बनाउने र नौबिसेदेखि काठमाडौंसम्म सुरुङ खन्ने प्रस्तावलगायत छन्। यस्तै मदन भण्डारी पोलिटेक्निक इन्स्टिच्युट, हुम्ला जोडिने हिल्सा नाका र मुस्ताङसँग जोडिएको केरला नाका खोल्न, गल्छीदेखि केरुङसम्मको बाटो स्तरोन्नति गर्ने प्रस्ताव नेपालको छ।

परराष्ट्र स्रोतका अनुसार केरुङ–काठमाडौं रेलमार्गको विस्तृत अध्ययनको प्रस्ताव राख्ने इच्छा नेपालले देखाएको छ।भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता हुनेछ। त्यसपछि दुवै देशबीच व्यापार तथा पारवहन सन्धिको प्रोटोकलमा हस्ताक्षर हुनेछ।

भण्डारीले दोस्रो बीआरआई सम्मेलनमा पनि नेपालको चासोबारे औपचारिक सम्बोधन गर्ने कार्यक्रम रहेको छ।नेपालका राष्ट्रपतिलाई पहिलोपटक कार्यकारी भ्रमणको निम्तो दिएको चीनले भण्डारी नेतृत्वको टोलीलाई बेइजिङमा उच्च सम्मान दिँदै छ ।

५० सदस्यीय टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सांसद योगेश भट्टराईसहित उच्च सरकारी अधिकारीहरूलगायत सहभागी हुनु भएको छ।यसबाहेक भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा पनि चीन गएकी छिन्। सरकारी ३४ र निजी क्षेत्रका ९ जनासहितको टोली वैशाख १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्