काठमाडौं, ११ वैशाख । राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा नेपाल टेलिकमले पनि मोबाइल बैंकिङ सेवा सुरु गर्ने भएको छ। टेलिकमले बैंकसँगको सहकार्यमा यसलाई अघि बढाउनका लागि केही दिन अघिमात्रै प्रारम्भिक समझ्दारी भएको बताएको हाे।
टेलिकमका सहप्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार अहिले अवसर खोज्ने सहमति भएको हो। ‘मोबाइल बैंकिङमा अवसर हुन सक्ने भएकाले दुई संस्थाबीचमा यसलाई अघिबढाउन सकिन्छ कि भनेर समझ्दारी भएको हो’, भण्डारीले भने, ‘अहिले नै मोबाइल बैंकिङ सुरु गर्ने भन्ने होइन। यसको प्रक्रिया लामो छ।’
यसमा राष्ट्र बैंकलगायत अन्य संस्थासँगको समहति पनि आवश्यक हुन्छ। अहिले दुई संस्थाको सहकार्यमा कसरी काम गर्न सकिन्छ भनेर अध्ययन अघि बढाइएको भण्डारी बताउँछन्। भण्डारीका अनुसार नीतिगत रूपमा दूरसञ्चार कम्पनीको हिसाबले टेलिकमले वित्तीय क्षेत्रमा सीधै काम गर्न पाउँदैन। त्यसका लागि वित्तीय कम्पनीका रूपमा जान राष्ट्र बैंकबाट स्वीकृति लिएर सब्सिडरी कम्पनी खोल्न अथवा वित्तीय संस्थासँगै संयुक्त कम्पनीमा गएर काम गर्ने भन्ने दुविधा छ। त्यसैका आधारमा अहिले राष्ट्रिय वाणिज्य बैंकसँग यसलाई अघि बढाउन समझ्दारी भएको हो।
‘टेलिकम कम्पनी भएकाले यसको निगरानी नेपाल दूरसञ्चार प्राधिकरणले गर्दै आएको छ, मोबाइल मनी वित्तीय क्षेत्र अन्तर्गत पर्ने भएकाले फेरि राष्ट्र बैंकले निगरानी गर्नुपर्ने हुन्छ’, भण्डारीले भने, ‘त्यसैले एनटीएबाट नो अब्जेक्सन अप्रुभल दिएर राष्ट्र बैंकसँग अनुमति लिएर गर्न सकिने भन्ने हो। त्योभन्दा पछाडिको बैंकको साइडमा हो। त्यसको निर्णय हुन बाँकी छ। अहिले मात्र कसरी अघि बढ्ने भन्ने तयारीका लागि समझ्दारी भएको हो।
यसअघि यही वैशाख ६ गते प्राधिकरण र राष्ट्र बैंकबीचमा टेलिकम सेवा प्रदायकको प्रविधि प्रयोग गरेर मोबाइल फाइनान्स र बैंकिङ सेवा उपलब्ध गराउन समझ्दारी भएको थियो।



लाेकपाटी न्यूज

