काठमाडौं, ११ वैशाख। राष्ट्रपति विद्या भण्डारी बुधबार चीनको राजकीय भ्रमणमा जार्दै छिन्। चीनको बेईजिङमा आयोजना हुने बेल्ट एण्ड रोड (बीआरआई) को दोस्रो सम्मेलनमा भाग लिन राष्ट्रपति भण्डारी बुधबार चीनको राजकीय भ्रमणमा जान लागेकी हुन्।
राष्ट्रपति भण्डारीको चीनको राजकीय भ्रमणका क्रममा २०१६ मा दुई मुलुकबीच गरिएको पारवहन सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने कार्यसूचि तय गरिएको छ। त्यसैगरी केरुङ–काठमाडौं रेलमार्ग निर्माणको काम सुरु यसै वर्षबाट सुरु गर्ने गरी सहमति गर्ने, जनशक्ति निर्माणका लागि आवश्यक प्राविधिक विश्वविद्यालय स्थापनाका लागि पनि चीनसँग समझदारी गर्ने तयारी पनि गरिएको छ।
भ्रमणका क्रममा तातोपानी नाकासंग सम्बन्धीत विषयमा पनि छलफल हुनेछ। चीन सरकारले आगामी मे महिना भित्र तातोपानी नाका खुलाउने गरी त्यहाँको विकास निर्माणको कामलाई अघि बढाएको छ।
राष्ट्रपति भण्डारीको बुधबारबाट हुने राजकीय भ्रमणमा पनि दुई मुलुकबीचको आर्थिक साझेदारीको विकासलाई जोड दिने तयारी छ। राष्ट्रपतिका साथमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सांसद तथा उच्च अधिकारीहरू समेतको सहभागिता रहनेछ। राष्ट्रपति भण्डारी वैशाख १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।



लाेकपाटी न्यूज

