काठमाडौं, १० वैशाख । विभिन्न चार कम्युनिष्ट पार्टीबीच कार्यगत एकता गर्ने सहमति भएको छ। मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), सुलभ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच कार्यगत एकता गर्ने सहमति भएको हो।
जसमा वैद्य नेतृत्वको नेकपाको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलको पनि हस्ताक्षर रहेको छ। चार दलले कार्यगत एकता भएकोसम्त्रन्धी जानकारी दिन जारी गरेको संयुक्त विज्ञप्तिमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध खारेजीको समेत माग गरिएको छ। यस्तै गृहमन्त्रालयले जन्मको आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिन गरेको निर्णयको विरोध विज्ञप्तिमा गरिएको छ।
यस्तै सुन तस्करीमा संलग्न र कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या तथा बलात्कारमा संलग्नलाई कारबाही गर्नुपर्ने लगायतका माग पनि विज्ञप्तिमार्फत गरिएको छ। यी दलले आगामी वैशाख २७ गते शान्तिबाटिकामा संयुक्त विरोधसभा समेत गर्ने तयारी गरेको बताइएको छ।



लाेकपाटी न्यूज

