चितवन, १० वैशाख । श्री उदय कुमार चमेली देवी पिया चितवन स्पाईनल इन्ज्योरी अस्पताल तथा पुनस्थापना केन्द्रको शिलान्यास गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ३ सानो मझुवा नगरवनमा निर्माण हुने उक्त केन्द्रको सोमबार एक कार्यक्रमकाबीच शिलान्यास गरिएको हो ।
चितवन रोटरी क्लबको नेतृत्वमा रोटरी क्लब अफ रत्ननगर, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ नारायणी मिड टाउन, रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ जावलाखेलले स्पाइनल इञ्जुरी संघ नेपालसँगको सहकार्यमा सो केन्द्र सञ्चालन गर्न लागिएको हो । केन्द्र निर्माण गर्न भरतपुर महानगरले १ विघा जग्गा भोगाधिकार प्रदान गरेको छ । यस केन्द्र स्थापनाका लागि नारायणगढका सामाजिक व्यक्तित्व उदय कुमार पियाले तीन करोड रुपैयाँ सहयोग गर्ने भएका छन्।
सहयोगी पिया र सञ्चालकहरुसँगको सम्झौता हस्ताक्षर कार्यक्रमलाई संबोधन गर्दै भरतपुर महानगरपालिका प्रमूख रेनु दाहालले उदयकुमार चमेली देवी चितवन स्पाईनल इन्ज्योरी अस्पताल तथा पुनस्र्थापना केन्द्र निर्माणका लागि तीन करोड रुपैयाँ सहयोग गर्ने पिया परिवारलाई धन्यवाद दिँदै मानवीय सेवा गर्ने हातहरुलाई महानगरपालिकाले सधैँ स्मरण गरिरहने बताइन्। भरतपुर महानगरले प्रदान गरेको एक बिघा जमिनमा स्पाईनल इन्ज्योरीको समस्यामा रहेका विरामीहरुलाई सेवा पु¥याउने अस्पताल बन्ने निश्चित भएकोमा खुशी व्यक्त गर्दै उनले दाता पिया परिवार र सम्पूर्ण रोटरियनहरुलाई धन्यवाद दिइन् । प्रमूख दाहालले आवश्यक सहयोग जुटाएर समयमै अस्पताल संचालन गरी बिरामीहरुलार्ई सेवा पु¥याउन आग्रह समेत गरिन्।
मेरुदण्ड घाइते भएर उपचारको अपेक्षा गर्ने सम्पूर्ण सहयोगापेक्षी व्यक्तिहरुलाई उचित उपचार एवं पुनस्थापनाको सेवा पु¥याउने उद्देश्यले नितान्त नाफारहित समाज सेवा गर्ने मनसायबाट यो केन्द्र सञ्चालन गर्न लागिएको चितवन रोटरी क्लवका अध्यक्ष कपिल बाबु खनालले बताए। केन्द्रमा ओपीडी फिजियो थेरापीको पनि सुविधा हुने रो. खनालले जानकारी दिए।
हाल २५ वेडको क्षमतामा २ वर्षभित्र केन्द्रको निर्माण गरी सञ्चालनमा ल्याइने उनको भनाइ छ । भविष्यमा केन्द्रलाई ५० वेडको क्षमतामा विस्तार गर्ने र फिजियो थेरापी लगायतका विधाहरुको एउटा सिकाइ केन्द्रको रुपमा यसलाई विकास गर्दै लैजाने लक्ष्य राखिएको अध्यक्ष खनालले बताए।
समाजसेवी पियाले प्रदान गर्न लागेको तीन करोड रुपैयाँ, रोटरी क्लबहरु एवं अन्य स्रोतबाट एक करोड ५० लाख रुपैयाँ जुटाएर केन्द्रको स्थापना गर्न लागिएको खनालले जानकारी दिए। यस केन्द्रमा लाग्ने सम्पूर्ण औजार उपकरणहरु रोटरी इन्टरनेशनलको रोटरी ग्रोवल ग्राण्टबाट गर्न व्यवस्था गरिने उनले बताए। यो केन्द्र नेपालकै दोस्रो, उपत्यका बाहिर पहिलो एवं महानगरपालिकाबाट प्रोत्साहित गरिएको हालसम्मकै एक मात्र केन्द्र भएको सञ्चालकहरुको दाबी छ ।



लाेकपाटी न्यूज

