सप्तरी, १० वैशाख। सप्तरीका पुस्तक व्यवसायीहरुले मिलेमतोमा पुस्तक बिक्री केन्द्र सञ्चालनमा ल्याएपछि विद्यार्थी संगठनहरुले विरोध गरेका छन्।
अभिभावकलाई आर्थिक शोषण गर्ने नियतले व्यवसायीहरुले मिलेमतोमा राजविराजमा पुस्तक बिक्री केन्द्र सञ्चालनमा ल्याएको भन्दै विद्यार्थी संगठनहरुले विरोध गरेका हुन्। पुस्तक व्यवसायीहरु मिलेर विद्यालयका पाठ्यपुस्तक बिक्रीवितरण केन्द्र सञ्चालनमा ल्याएका थिए।
तर त्यसले पुस्तकमा सिन्डिकेट कायम गर्न खोजेको विद्यार्थी संगठनहरुको आरोप रहेको छ। पुस्तक बिक्री केन्द्रले निजी शैक्षिक संस्थाहरुसँग मिलेर अभिभावकलाई आर्थिक भार थपेको भन्दै विद्यार्थी संगठनहरुले आन्दोलन नै थालेका छन्।
अनेरास्ववियु, नेविसंघ, समाजवादी विद्यार्थी फोरम,राष्ट्रिय विद्यार्थी संघलगायतका विद्यार्थी संगठनले सिन्डिकेटअनुसार सञ्चालनमा ल्याइएको पुस्तक बिक्री केन्द्र तत्काल बन्द गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्। पुस्तक बिक्री केन्द्रले बढी मूल्य लिएर पुस्तक बिक्री गरेको, छुटसमेत नदिएको विद्यार्थी संगठनहरुले आरोप लगाएका छन्।



लाेकपाटी न्यूज

