सिमामा चोरी–तस्करी बढयो

taskari nawolparasi
लाेकपाटी न्यूज

नवलपरासी, १० वैशाख। पश्चिम नवलपरासीको सिमा क्षेत्रमा विभिन्न सर–सामानको तस्करी बढदै गएको छ। स्थानिय तस्करहरुले विभिन्न सर–सामानहरुको तस्करी गर्ने गरेको पाइएकोे छ।

जिल्लाको मुख्य नाका महेसपुरमा प्रहरीको बाक्लो उपस्थित र महेसपुर मुल भन्सार भएकाले तस्करहरु विसुनपुरा, भुजहवाँ, बसहिया, झुलनिपुर, हर्कपुरा, पक्लिहवाँ,धर्मौली,बहुआर, रतनरगंजको सानो नाका प्रयोग गरि विभिन्न सर–समानहरुको चोरी तस्करी गर्ने गरेका प्रतापपुर गाउँपालिका निवासी धिरज त्रिपाठीले आरोप लगाए।

उनले भने, तस्करहरु भारतबाट लत्ताकपडा, ईलेक्ट्रिक, हार्डवेयरका सरसामान र खाद्यान्न तथा कस्मेटिकका सर–सामानहरुको तस्करी गर्ने गरेका छन् भने नेपालबाट मटर, मरिच र कबाड र मसलाका सर–सामानहरुको भारतमा तस्करी गरि करोडौं रुपैया राजस्व छल्ने गरेको त्रिपाठीको आरोप छ।

त्यस्तै तस्करहरू नारायणी नदी (गंडक नदी) मा अवैध उत्खनन गरि गिट्टीबालुवा र ढुंगाहरूको तस्करी पनि गर्ने गरेका छन्। तस्करहरु रातीको समयमा तस्करीका सामान मोटरसाईकल तथा साईकलमा लोड गरि राजमार्ग क्षेत्रमा पुर्याउने र त्यहा भण्डारण गरि बिल काटेर बुटवल, नारायणघाट, पोखरासम्म पुर्‍याउने गरेका छन्।

यता मटर र मरिचका कारोबारीहरु सिमा क्षेत्रमा खोलिएको फर्मसम्म माल ल्याउने र अवसर छोप्दै साईकल मोटरसाईकलमा सिमापारी पठाउने गरेको महेसपुरका स्थानिय बताउछन्। स्थानियबासीका अनुसार ‘‘सिमा क्षेत्रमा कुनै पनि ठुलो बजार छैन र यहाँ एक पिकपका माल खपत हुन महिनौं दिन लाग्न सक्छ तर दिनहुँ पिकपका पिकप आउने मटर तथा मरिच एवं मसलाका सर–सामानहरु कहाँ गई रहेको छ ? प्रहरी प्रशासनले खोज्ने विषय रहेको” स्थानियले जिकिर गरे।

यतिबेला तस्करहरु सानो नाका भुजहवाँ, विष्णुपुरा (बरगदवा) लाई बढि प्रयोग गरेका छन्। प्रहरीका घुमुवाहरु आफनो उद्देश्य विपरित अवैध काम गराईरहेका छन् तर सम्बन्धित निकाय भने मौन बसिरहेको छ स्थानियले भने।
यता महेसपुर भन्सार कार्यालयले पनि प्रहरीकै सेटिङ्गमा चोरी तस्करी हुने गरेको निष्कर्ष निकालेको नाम नलेख्ने शर्तमा भन्सारका एक कर्मचारीले बताए।

उनले भने, प्रहरीले चाह्यो भने एउटा सियो पनि छिर्दैन तर हामीले चोरी तस्करी नियन्त्रण गर्न चाहेपनि प्रहरीको साथ नपाईरहेको आरोप लगाए। गोप्य सुचनाको आधारमा तस्कर र सामान छोप्न हामी यहाँबाट हिँडदा तस्करले थाहा पाईसकेको हुन्छ उनले भने, हामी रातदिन फिल्डमा दौडाहा लगाएपनि केहि भेटाउन्ना किनभने उनीहरुलाई हामी हिडेको थाहा भईसक्छ उनले जिकर गरे।

जिल्लामा महेशपुर नाकालाई सरकारले मुल नाकामा स्तरोन्नती गरेपछि भन्सारको सक्रियता बढे पनि प्रहरीबाट भरपुर सहयोग नपाईरहेको भन्सारले जनाएको छ। जिल्ला खुल्ला सिमाका कारण तस्करी हुने गरेको सबै सम्बन्धित निकायको निष्कर्ष छ।

यता प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले सिमा क्षेत्रमा भैरहेको चोरी तस्करी नियन्त्रण गर्न विशेष रणनिति अपनाएर अगाडी बढिरहेको बताएका छन्। प्रमुख जिल्ला अधिकारी लामिछानेले भने, यदि कसैले तस्करी भैरहेको देख्यो भने तुरुन्त प्रशासनमा खबर गर्ने समेत आग्रह गरे।

प्रमुख जिल्ला अधिकारी लामिछानेले नेपालबाट भारत र भारतबाट नेपाल भैरहेको चोरी तस्करी नियन्त्रणका लागि प्रहरीको कडा निगरानी बढाइएको छ भन्दै बरामद सामान जफत गर्ने र पक्राउ पर्ने कारोबारीलाई कार्वाही समेत गर्ने चेतावनी दिए। त्यसैगरि प्रहरी प्रमुखहरुले चोरी तस्करी नियन्त्रण गर्न प्रहरी लागी परेको र सिमा कडा निगरानी बढाएको बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्