श्रीलङ्कामा सङ्कटकाल घोषणा

shirlanka
लाेकपाटी न्यूज

कोलम्बो, १० वैशाख। श्रीलङ्कामा भएको शृङ्खलावद्ध बिस्फोटमा परी सयौँको मृत्यु भएपछि सङ्कटकाल घोषणा गरिएको छ।

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सोमबाररातिदेखि देशभर संकटकाल घोषणा गरेका छन्। श्रीलङ्कामा आइतबार भएका विस्फोटनका घटनाहरुमा परी झण्डै २ सय ९० जनाको मृत्यु भएपछि स्थितिलाई नियन्त्रणमा लिन सङ्कटकालको घोषणा गरिएको हो।

राष्ट्रपति कार्यालयको सञ्चार विभागद्वारा जारी वक्तव्यमा नागरिकको सुरक्षा सुनिश्चितताका लागि सङ्कटकाल घोषणा गरिएको उल्लेख छ। राष्ट्रपति सिरिसेनाले अप्रिल २३ का दिन राष्ट्रिय शोक मनाउने घोषणा पनि गर्नुभएको सञ्चार विभागले जनाएको छ।

बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब छ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन्। गिर्जाघरमा बिस्फोट हुँदा इसाई धर्मावलम्बी इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भइरहेका थिए। राजधानी कोलम्बोमा रहेका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघर (चर्च)मा आइतबार भएका शृङ्खलावद्ध बिस्फोटमा मृत्यु हुनेको सङ्ख्या सोमबार मध्यान्हसम्म २ सय ९० जना पुगेको प्रहरीले जनाएको छ।

घटनामा परी अन्य पाँच सय भन्दा बढी घाइते भएका छन् भने केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङख्या बढ्न सक्ने बताइएको छ। श्रीलङ्काली सुरक्षा निकायहरूले घटनाका दोषीहरूको खोजी गर्न व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरेका छन्। प्रहरीका अनुसार विस्फोटनमा संलग्न भएको आशङ्कामा अहिलेसम्म २४ जनालाई पक्राउ गरिएको छ।

स्वास्थ्य मन्त्री रजिथा सेनारत्नेले स्थानीय अतिवादी इस्लामिक समूह राष्ट्रिय तोव्हीड जमात यस विस्फोटनमा जिम्मेबार रहेको बताएका छन्। उनले घटनाबारेमा अनुसन्धान भइरहेको र अन्तर्रा्ष्ट्रिय समूहहरूको पनि संलग्नता रहेको हुनसक्ने आशङ्का व्यक्त गरे। घटनामा परी भारतीय, अमेरिकी, बेलायती, जापानी समेतका ३७ जना विदेशी नागरिक पनि रहेको श्रीलङ्काको विदेश मन्त्रालयले जनाएको छ।

राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा बिस्फोट गराइएका थिए। यस्तै राजधानीका पाँचतारे होटल साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि बिस्फोट भएका थिए। सुरक्षाकर्मीहरुले राजधानी स्थीत बसपार्कबाट सोमबार साना ठूला गरी ८७ ओटा विस्फोटक पदार्थहरु फेला परेको जनाएका छन्। (एएफपी)