२०७५ सालमा प्रहरीले गरेका कामकाे निष्पक्ष मूल्याङ्कन गर्नुस् : महानिरीक्षक खनाल

IGP-sarbendra-khanal
लाेकपाटी न्यूज

काठमाडौं, ९ बैशाख । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शान्ति सुरक्षा, अपराध नियन्त्रणका साथै विकासका गतिविधिमा देखिएका सुरक्षा चुनौतीमा सामना गर्न नेपाल प्रहरी पूर्णतया सक्षम रहेको बताएका छन्। २०७५ सालमा नेपाल प्रहरीबाट सम्पादन भएका कार्य र हासिल भएका उपलब्धीहरु सम्बन्धमा प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन्।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले सुरक्षाको चुस्तता, शान्ति सुरक्षाको राम्रो अवस्था सिर्जना गर्ने, अपराध अनुसन्धान तथा समाजमा हुने अवान्छित गतिविधिहरु नियन्त्रणका साथै त्यस्ता गतिविधिहरु निर्मूल गर्नेतर्फ नेपाल प्रहरी सदैव केन्द्रित रहेको बताए। अपराध नियन्त्रणमा २०७५ सालमा उल्लेख्य काम भएको चर्चा गर्दै उनले शान्ति सुरक्षालाई चुस्त, दुरुस्त र सुदृढ बनाउन तथा अपराध नियन्त्रण गर्नका लागि नेपाल प्रहरीले पूर्ण व्यावसायिक रुपमा पारदर्शी ढंगले काम गरिरहेको उल्लेख गरे।

सम्माननीय प्रधानमन्त्रीज्यूबाट राष्ट्रिय अभियानको रुपमा प्रस्तुत भएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अन्तर्गत नेपाल प्रहरीले गृह सुधार योजनाअनुसार काम गरिरहेको उल्लेख गरे। सोही अभियानमा केन्द्रित भएर प्रहरीले गरेका गतिविधि र समृद्धिमा पुयाएको योगदानको बारेमा गरेका गतिविधिहरु मार्फत समाजमा सकारात्मक सन्देश पुयाउन संचारकर्मीहरुले अहम भूमिका खेल्नुपर्ने उनले बताए। राष्ट्र निर्माणको दायित्व सबैको उत्तिकै भएकोले यस कार्यमा साथ र सहयोग गर्न संचारकार्मीहरुलाई महानिरीक्षक खनालले आग्रह समेत गरे।

प्रहरी महानिरीक्षक खनालले अपराध अनुसन्धान तथा नियन्त्रणमा समुदायको भूमिका अहम रहने र समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत अपराध नियन्त्रण तथा अपराधिक क्रियाकलाप नियन्त्रणमा समुदायको सहयोग भइरहेको चर्चा गरे। उपत्यकाको ट्राफिक व्यवस्थापनलाई अझै व्यवस्थित बनाउन ३ महिने अभियान सुरु गरिएको जानकारी दिँदै उनले यसका लागि सबै सरोकारवाला निकायले समन्वयात्मक रुपमा आ–आफ्नो जिम्मेवारी एवम् भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

उक्त अवसरमा निर्मला हत्या प्रकरणमा प्रहरी अनुसन्धान सम्बन्धी संचारकर्मीहरुद्वारा राखिएको जिज्ञासा निरुपण गर्दै प्रहरी महानिरीक्षक खनालले घटना अनुसन्धानमा नेपाल प्रहरीको प्रयास जारी रहेको बताए। संघीय प्रहरी ऐन सम्बन्धमा राखिएको जिज्ञासाबारे उनले प्रहरीको भूमिका लगायत अन्य पक्षमा सरकारमा सुझाव पेश गरिएको जानकारी दिए।

प्रहरी संगठन थप सुदृढ गर्ने निरन्तर प्रकृया भएको बताउँदै प्रहरी महानिरीक्षक खनालले भने, ‘हामी पारदर्शी हुन चाहन्छौं, संगठनलाई नेपाल प्रहरीमा यस्तै थियो भन्ने जस्ता नकारात्मक धारणालाई न्यून हैन शून्य बनाउन चाहन्छौं।’ नेपाल प्रहरीमा प्रविधिको विकास गर्दै नीतिगत एवं प्रशासनिक गतिविधिमा उपलब्धीमूलक कार्य गर्न प्रहरी संगठन दृढ रहँदै आएको समेत उनले चर्चा गरे।

कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता र सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले २०७५ सालमा नेपाल प्रहरीबाट सम्पादन भएका कार्य र हासिल उपलब्धीहरु सम्बन्धमा प्रस्तुतीकरण गरेका थिए। पछिल्लो समय नेपाल प्रहरीबाट भएका समसामयिक बिषयमाथि प्रकाश पार्दै उनले हालै कार्यान्वयनमा ल्याइएको समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत भएका कार्यक्रम संचालन, साझेदारीका संरचनाहरू, समुदाय–प्रहरी साझेदारी कार्यान्वयनका लागि साझेदारहरूको अभिमूखीकरण, सामुदायिक सचेतना कार्यक्रम, सिसिटिभि जडान साथै समुदाय–प्रहरी साझेदारी लागू भए पश्चात् फरार अभियुक्त पक्राउ, अवैध हातहतियार नियन्त्रण, लागूऔषध तथा अवैध मदिरा नियन्त्रण सम्बन्धी प्रस्तुतीकरण गरेका थिए।

अपराध अनुसन्धान र नियन्त्रणतर्फ मानव बेचबिखन र साइबर अपराधको बढ्दो चुनौतिलाई सम्बोधन गर्नका लागि बिशिष्टिकृत इकाईको स्थापना तथा क्षमता अभिबृद्धि गरिएको जानकारी दिँदै प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीले शान्ति सुरक्षामा प्रहरीको गतिशीलता, अपराध अनुसन्धानतर्फ पक्राउ विवरण, मुद्दा दर्ता, लागूऔषध बरामद, अवैध हातहतियार तथा विस्फोटक पदार्थ बरामद, अवैध सुन बरामद, राजस्व चुहावट नियन्त्रण, राजस्व योगदान तथा इन्टरपोलबाट जारी भएका नोटिस, विपद् उद्धारमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिका सम्बन्धी जानकारी दिए।

उपत्यकाको ट्राफिक व्यवस्थापनको लागि ३ महिने कार्ययोजना बनाई कार्यान्वयन गरिएको बताउँदै नेपाल प्रहरीका प्रशासनिक गतिविधि, तालिम कार्यक्रम, कार्वाही तथा पुरस्कार, प्रहरी कल्याण कोषबाट सञ्चालित कल्याणकारी कार्यक्रमहरू, भौतिक पूर्वाधार, अन्तर्राष्ट्रिय समझदारी र उपलब्धी, स्रोत व्यवस्थापन, आर्थिक सुशासन, सूचना तथा सञ्चार प्रविधि एवम् भावी योजनाबारे भएका पछिल्लो विवरण उनले प्रस्तुत गरे ।

उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरुलगायत विभिन्न संचारमाध्यमका संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्