शहिद विष्णु मार्ग शिलान्यास

sahid bishnu
लाेकपाटी न्यूज

काठमाडौं, ९ वैशाख । बर्दियामा रम्मापुरदेखि जयनगर हुँदै सदरमुकाम गुलरिया जोड्ने सडक निर्माणको काम आज (वैशाख ९) गते शिलान्यास भएको छ। यसअघि नै बारबर्दिया नगरपालिकाको नगर सभाले उक्त सडकको नाम शहिद विष्णु मार्ग राख्ने निर्णय गरेकोमा आज सोही नामाकरण गर्दै सडकको शिलान्यास गरिएको हो।

बारबर्दिया नगरपालिकाका नगर प्रमूख दुर्गा बहादुर थारु(कबिर)बाट उक्त सडकको शिलान्यास भएको हो। सडकको शिलान्यास गरेपछि नगर प्रमूख कबिरले अब रम्मापुर–गुलरिया मार्ग शहिद विष्णु मार्गका नामले चिनिने भएको बताए। सडकको अधिकांश ग्राभेलिङको काम पहिला नै भएको भन्दै उनले अब सडकको कालोपत्रे गर्ने कामलाई अगाडि बढाइने योजना रहेको बताए। उनले सडकको स्तरोन्नती गर्दै सडकलाई १५ मिटर चौडामा विस्तारित गरिने पनि बताए।

नगरपालिकाको समग्र विकासको लागि सडक सञ्जाल अत्यावश्यक पूर्वाधार भएको बताउँदै उनले सडक निर्माणको कामलाई नगरपालिकाले प्राथमिकतमा राखेको बताए। उनले सो सडक निर्माणको ठेक्का कुमार कन्ट्रक्सनले लिएको बताउँदै ३ वर्षभित्र निर्माणको काम सम्पन्न हुने बताए। उनका अनुसार शहिद विष्णु मार्गको लम्बाई ३० किलोमिटर रहेको छ।

उक्त सडकको शिलान्यास कार्यक्रममा कुमार कन्ट्रक्सनका सिइओ, नगरपालिकाका सदस्यहरु, उद्योग वाणिज्य संघ जयनगरका अध्यक्ष, रेडक्रसका अध्यक्ष, नगरपालिकाका बुद्धिजीवीहरुलगायतको उपस्थिति रहेको थियो।

को हुन् शहिद विष्णु पोखरेल ?
वि.सं २०२७ सालदेखि कम्युनिष्ट पार्टीको सदस्यता लिएका शहिद विष्णु पोखरेल पश्चिम नेपालको अग्रज कम्युनिष्ट नेता मानिन्छन्। बर्दिया जिल्लामा उनले राजनीतिको अलबा सामाजिक, शैक्षिक र विकास निर्माणको क्षेत्रमा अमूल्य योगदान पुर्याएका थिए।

पञ्चायतकालमा नै पार्टीको केन्द्रीय जिम्मेवारी सम्हालेका उनको वि.सं २०५५ साल जेठ २८ गते बर्दियाकै रानीजरुवा जङ्गलमा किसान नेता शहिद धनिराम थारुसँगै तत्कालिन राज्यपक्षद्वारा गोली हानी हत्या गरिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्