काठमाडौं, ९ वैशाख । रत्नराज्य माध्यामिक विद्यालयका प्रधानाध्यापकलाई कार्यकक्षमै हातपात गरिएको छ।काठमाडौंको नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यामिक विद्यालयका निमित्त प्रधानाध्यापक जीवनप्रकाश रेग्मीलाई सोमबार कार्यकक्षमै हातपात गरिएको हो।
काभ्रेको पाँचखाल नगरपालिका मेयर महेश खरेल र विद्यालयका शिक्षक कृपासुर खड्काको नेतृत्वमा गएको एक समूहले उनीमाथि हातपात गर्दै दुव्र्यवहार गरे । मेयर खरेल नयाँ बानेश्वरका बासिन्दा समेत हुन् । प्रधानाध्यापक नियुक्तिको विषयमा विवाद हुँदा स्थानीय २० र २५ जनाको समूहले विद्यालयमा प्रवेश गरी हुलदंगा गर्यो । म कार्यकक्षमा बसिरहेको थिएँ, मेरो कुर्ची तानेर फालियो, हातपात गरियो, मेरो छोरालाई समेत कुटपिट गरियो, रेग्मीले भने, ‘अन्य शिक्षक, विद्यार्थी आएर जोगाए। प्रहरी पनि आइपुगेपछि आक्रमणकारीहरु फर्किए । विद्यालयमा खाजा र्पुयाउन आएको छोरामाथि समेत हातपात भएको पनि रेग्मीले जनाए ।
विद्यालयमा हुलदंगा हुन थालेपछि महानगरीय वृत्त बानेश्वरमा खबर गरिएको थियो । डिएसपी गोविन्दराज काफ्लेले विद्यालयमा प्रअ नियुक्ति विषयमा दुई पक्षबीच विवाद भएको बताए। रेग्मीले भने हातपात गर्नेहरु विरुद्ध प्रहरीमा लिखित उजुरी गर्ने तयारी गरेका छन् ।
तत्कालिन प्रअ गीता खरेलले अवकाश पाएपछि विद्यालय व्यवस्थापन समितिले रेग्मीलाई निमित्त प्रअको जिम्मेवारी दिएको थियो । प्रअ खरेलले समेत उनैलाई जिम्मेवारी दिएर वैशाख ५ गतेबाट बिदा लिएकी हुन् ।केही स्थानीयवासी माविका सामाजिक विषयका शिक्षक खड्कालाई प्रअ बनाउन चाहान्छन् । स्थानीय तहले उनैलाई निमित्त प्रअको जिम्मेवारी दिएको भन्दै उक्त समूह विद्यालय प्रवेश गरेको थियो । उनीहरु मध्ये अधिकांश विद्यालयका अभिभावक समेत होइनन् ।
विद्यालयका शिक्षकहरुका अनुसार रेग्मीलाई कुर्चीबाट हटाएर खड्कालाई बसाउने र प्रअ घोषणा गर्ने उनीहरुको योजना थियो । सोही समूहले हातपात र दुव्र्यवहार गरेको हो । व्यवस्थापन समिति र पूर्वप्रअ खरेलले सहायक मध्येको वरिष्ठ रेग्मीलाई जिम्मेवारी दिएको जनाएका छन् । विद्यालय परिसरमा भवन बनाउने विषयमा विवाद हुँदा यसअघि पनि मेयर खरेलले विद्यालयमा प्रवेश गरेर हुलदंगा गरेका थिए । उनी कांग्रेसबाट मेयरमा निर्वाचित भएका हुन् ।



लाेकपाटी न्यूज
