राजधानीमा ‘नो हर्न’ कार्यान्वयन फितलो

No haran
लाेकपाटी न्यूज

काठमाडौं, ९ वैशाख। काठमाडौँ उपत्यकामा सवारी साधनलाई हर्न बजाउन निषेध गरेपनि त्यसको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन्। ध्वनि प्रदूषण बढेको भन्दै सवारी साधनलाई हर्न बजाउन निषेध गरिएको थियो।

काठमाडौँ महानगरपालिकाले २०७४ वैशाख १ गतेबाट काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण नियन्त्रणको अभ्यास शुरु गरेको हो। दुई वर्ष बितिसक्दासम्म सडकको मुख्य स्थानमा प्रशस्तै मात्रामा सवारी साधनहरुले ध्वनि प्रदूषण गरिरहेका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको अग्रसरतामा काठमाडौं महानगरपालिकामा यातायात व्यवस्था विभागको सहकार्यमा उक्त नियम लागू भएको हो। तर, कार्यक्रम शुरु भएको दुई वर्ष बितिसक्दासम्म उपत्यकामा सवारी साधनका ध्वनिहरु प्रशस्तै सुनिन्छन्। यो अवधिमा नियम कार्यान्वयनको प्रभाव भने आंशिक मात्र देखिन्छ।

कार्यान्वयन पक्ष त्यति प्रभावकारी देखिएको छैन। कार्यक्रम लागू गर्न काठमाडौं महानगरपालिकाले एक हप्तादेखि सडकको चोक चोकमा ‘नो हर्न ’कार्यक्रमबारे ब्यानरहरु टाँसी जानकारी पनि गराएको थियो। कार्यक्रम शुरु भएको केही समय कार्यान्वयन पक्ष सन्तोषजनक रहेपनि अहिले त्यो अवस्था देखिँदैन।

सवारी चालकहरुले उक्त नियमलाई कार्यान्वयन गर्नतर्फ भन्दा पनि पुरानै शैलीमा सवारी हाँकिरहेको देखिन्छ।दैनिकरूपमा बढी रहेको सवारी साधन र कार्यान्वयनको अवस्था फितलो हुँदा उपत्यकाबासी ध्वनि प्रदूषणको मारमा परेका छन्। हाल काठमाडौँ उपत्यकामा १२ लाख सवारी साधनहरु गुड्ने गरेका छन्। काठमाडौं महानगरपालिकाले भने ‘नो हनर्’ कार्यक्रम प्रभावकारी भएको दावी गरेपनि त्यस किसिमको अवस्था रहेको पाइँदैन।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोल केही स्थान र नयाँ चालकले उक्त नियमको उल्लङ्घन गरेपनि नियमितरूपमा उपत्यकामा सवारी चलाउने चालकहरुले उक्त नियमको पूर्णरूपमा कार्यान्यवन गरेको दावी गर्छन्।महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख जयराज सापकोटाका अनुसार उपत्यकाको मुख्यमुख्य सडक चोकमा सवारी साधनमार्फत ध्वनि प्रदूषण गर्ने हालसम्म २५ हजार चालकलाई कारवाही गरिसकेको बताउँछन्।

कारवाहीमा पर्नेमा बढी मात्रामा उपत्यकाभन्दा पनि बाहिरी जिल्लाबाट भर्खर आएका चालक पर्ने गरेको प्रहरी महाशाखाले जानकारी गराएको छ। बाहिरी जिल्लाबाट आएका नयाँ चालक धेरै पर्छन्। नियम नै थाहा नभएकाले कतिपय अवस्थामा सचेत गराएर पठाउने गरिएको छ।

विशेषगरी कोटेश्वर, नयाँ बानेश्वर, थापाथली, कलङ्की, चक्रपथ, चावहिल महाराजगञ्जलगायत चक्रपथका मुख्य चोकमा सवारी साधनले उक्त नियम उल्लङ्घन गर्ने गरेको पाइएको ट्राफिक महाशाखाले जनाएको छ। अस्पताल, विद्यालय र मानिसको बाक्लो उपस्थिति रहने स्थानमा हर्न बजाउँदा त्यसको नकारात्मक असर धेरै हुने गरेको छ। यसले कानको जाली र भित्री जालीमा असर गर्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्