मुक्त हलैयाकाे पुनर्स्थापनाकाे सबै काम यही वर्ष हुन्छ : मन्त्री अर्याल

padma aryal
लाेकपाटी न्यूज

कञ्चनपुर, ९ वैशाख । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले यसै वर्ष पुनस्र्थापनाको काम सम्पन्न हुने बताएकी छिन् ।

कञ्चनपुरको भीमदत्तनगरपालिकास्थित मुक्त हलिया बस्तीमा पहिलोपटक निरीक्षण गर्ने क्रममा मन्त्री अर्यालले यसै वर्ष मुक्त हलैयाको पुनस्र्थापनाको सम्पूर्ण काम सम्पन्न गर्ने गरी सरकार अगाडि बढेको बताएकी हुन् । ‘अहिलेसम्म सबै काम सम्पन्न हुनुपर्ने थियो। तर भएन, अब त्यस्तो हुँदैन’, मन्त्री अर्यालले भनिन्, ‘यसै वर्ष सबै काम सम्पन्न हुन्छ।’

संघीय सरकारले यो वर्षको बजेटमा मुक्त हलियाको रोजगारीका लागि विभिन्न कार्याक्रमहरु समावेश गर्ने तयारी भइरहेको पनि अर्यालले जानकारी दिइन् । यसैगरी सरकारले एकीकृत बस्ती निर्माण कार्य गरिरहेको बागफाटा र बाह्रकुण्डाको एकीकृत बस्ती निर्माण सम्पन्न गर्न मन्त्री अर्यालले निर्देशन दिइन्। हलिया पुनस्र्थापनाका निम्ति भइरहेको एकीकृत बस्ती छिटो निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिँदै उनले जेठ महिनामै निर्माण सम्पन्न गरेर उद्घाटन गरी सबै घरहरुको चाबी हस्तान्तरण गर्ने प्रतिबद्धतासमेत मन्त्री अर्यालले व्यक्त गरिन् ।

आइतबार भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्याल भिमदत्त नगरपालिका १९ स्थित बागफाटा र वडा नम्बर १ स्थित बाह्रकुण्डाको हलिया बस्तीमा पहिलो पटक पुगेकी हुन्। आफ्नो बस्तीमा पहिलोपटक मन्त्री उपस्थित भएर आफ्नो समस्याका बारेमा जानकारी लिएपछि स्थानीय हलियाहरुले आफ्नो समस्या समाधान हुने अपेक्षा गरेका छन्।

विगतमा स्थानीय राजनैतिक दलका प्रतिनिधिहरुले आफूहरुको मुद्दा उठाए पनि पुनस्र्थापनामा पहल नगरेको उनीहरुको गुनासो छ। आफ्नो बस्तीमा पहिलोपटक मन्त्री पुगेपछि हर्षित भएका स्थानीयले मन्त्री समक्ष शिक्षा स्वास्थ्य लगायतका आधारभूत आवश्यकता पूर्तिको माग गरेका थिए। सरकारले आवास निर्माणका लागि उपलब्ध गराउँदै आएको रकम भवन निर्माण गर्न अपुग हुने भन्दै मुक्त हलिया समाजका अगुवा सिबी लोहारले रकम थप गर्न माग गरे। विगतमा बँधुवा मजदुरसरह जीविकोपार्जन गरेका उनीहरु लामो समयदेखि पुनस्र्थापनाको पर्खाइमा छन्। राष्ट्रिय मुक्त हलिया महासंघका अध्यक्ष इश्वर सुनारले समाजको तर्फबाट मन्त्री अर्याललाई ज्ञापनपत्र बुझाएका थिए।

कञ्चनपुरको बागफाँटा मुक्त हलिया बस्तीमा ३६ घर र बाह्रकुण्डामा ३७ घरको निर्माण कार्य चलिरहेको छ। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले पुनस्र्थापनाको काम गरिरहेको छ। जसमा ‘ह्याविट्याट फर ह्युमानिटी नेपाल’ ले प्राविधिक तथा सामाजिक परिचालनमा सहयोग गर्दै आएको छ।
गत आर्थिक वर्षको सरकारी तथ्यांकअनुसार देशभर १६ हजार ९ सय ५३ घरधुरी मुक्त हलिया रहेका छन्। जसमध्ये गत असारसम्म १२ हजार ५ सय ५६ वडा कार्ड प्रमाणित भएर ११ हजार ६ सय ६८ घरधुरीलाई कार्ड वितरण गरिएको भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सूचना अधिकारी उपसचिव गोपाल गिरीले जानकारी दिए। गिरीकाअनुसार हालसम्म ७ हजार २ सय २८ परिवारको पुनस्र्थापना भइसकेको छ।

सरकारले यसै आर्थिक वर्षमा पुनस्र्थापनाको काम सम्पन्न गरिसक्ने गरी काम अगाडि बढाएको उनले बताए। सुदुरपश्चिमका ९ जिल्ला र कर्णाली प्रदेशका हुम्ला, जाजरकोट र सुर्खेत जिल्लामा मुक्त हलिया रहेका छन्। हलियामुक्त गरेको १४ वर्ष बितिसक्दा पनि पुनस्र्थापनाको काम नसकिएपछि सरकारले यस वर्ष सम्पूर्ण पुनस्र्थापनाको काम सम्पन्न गर्ने योजना बनाएर काम अगाडि बढाएको उनको भनाइ छ।

यसैबीच मन्त्री अर्यालले महेन्द्रनगरस्थित भूमिसुधार कार्यालय र नापी कार्यालयको अनुगमन, निरीक्षण गरेकी छिन्। कार्यालयको निरीक्षण गर्दै मन्त्री अर्यालले मन्त्रालय मालपोत र नापी कार्यालयलाई नमूना बनाउने गरी अगाडि बढेको भन्दै उनले त्यही स्पिडका साथ काम गर्न कर्मचारीहरुलाई आग्रह गरिन्।

केही कार्यालयमा अनालाइन सेवा सुरु गरेको भन्दै उनले अनलाइनका कारण सेवा ढिलो भयो भन्ने महसुस जनतालाई हुन नदिन कर्मचारीलाई निर्देशन दिइन्। त्यस अवसरमा भूमिसुधार कार्यालय महेन्द्रनगरका प्रमूख धर्मानन्द भट्टले कार्यालयका समस्याहरुको बारेमा जानकारी गराएका थिए।