नेकपा एकता : यस्तो छ सुदूरपश्चिममा भागबण्डा

nekapa1-1.jpeg01
लाेकपाटी न्यूज

काठमाडौं, ९ वैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला तहको एकताले आज पूर्णता पाउने भएको छ । एकतालाई अन्तिम रुप दिएर जिल्ला नेतृत्वको नाम घोषणा गर्न नेकपाले कमलादीमा विशेष समारोह गरिरहेको छ ।

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये तत्कालीन एमालेको भागमा पाँच जिल्ला परेका छन् । स्रोतकाअनुसार तत्कालीन एमालेको भागमा बाजुरा, अछाम, डोटी, बैतडी र कैलाली परेका हुन् । बाँकी चार जिल्ला बझाङ, दार्चुला, डडेल्धुरा र कञ्चनपुरमा तत्कालीन माओवादीले नेतृत्व पाउने भएको छ ।

तत्कालीन माओवादीले नेतृत्व पाएको बझाङमा मिनबहादुर थापा, दार्चुलामा गणेश खत्री, डडेल्धुरामा मानसिंह माल र कञ्चनपुरमा विरबहादुर थापा ‘पाताल’ नेकपाको जिल्ला अध्यक्ष हुने स्रोतले जानकारी दिएको छ । यस्तै तत्कालीन एमालेका तर्फबाट बाजुरामा कालीबहादुर शाही, अछाममा शेरबहादुर कुँवर, डोटीमा चक्र मल्ल, बैतडीमा सुरेन्द्र पाल र कैलालीमा रतन थापाले पार्टीको नेतृत्व गर्ने भएका छन् ।

कैलाली नेकपाको जिल्ला अध्यक्ष हुन लागेका थापा तत्कालीन एमालेका जिल्ला उपाध्यक्ष हुन् । तत्कालीन जिल्ला अध्यक्ष दीर्घ सोडारी पार्टीको कारबाहीमा परेकाले उपाध्यक्ष थापालाई अध्यक्षको जिम्मेवारी दिने निर्णय भएको बताइएको छ ।