काठमाडौं, ९ वैशाख । श्रीलङ्काका विभिन्न सहरमा भएको बम विष्फोटपछि काठमाडौंको सुरक्षा सतर्कता बढाइएको छ।
कोलम्बोसहित श्रीलंकाका विभिन्न सहरमा भएको आतंकारी हमलापछि प्रहरीले काठमाडौंको सुरक्षा सतर्कता बढाएको हो। श्रीलंकामा ३५ विदेशी नागरिक सहित २ सय ९० जनाको ज्यान जानेगरी आईतबार भएको आत्मघाती बम आक्रमणपछि काठमाडौंको सुरक्षा ‘हाई अलर्ट’ गरिएको हो।
महानगरीय प्रहरी कार्यालयले काठमाडौंमा विदेशी पर्यटकको आगमन हुने क्षेत्र, होटल, धार्मिक र पुरातात्विक महत्वका सम्पदासहित अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा मजबुत बनाएको बताएको छ । प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान तथा कार्य विभागले समेत देशभरको सुरक्षा प्रबन्ध मजबुत पार्न सातवटै प्रदेश प्रहरी प्रमुखसहित महानगरीय प्रहरी प्रमुख शैलेश थापा क्षेत्रीलाई निर्देशन दिएको छ।
श्रीलंका आक्रमण लगत्तै हामीले उपत्यकास्थित प्रहरी इकाइलाई अर्लट गराएका छौं,’ महानगरीय प्रहरी प्रमुख डिआईजी शैलेस थापा क्षेत्रीले भने, ‘विदेशी पर्यटकका गन्तव्य हितका स्थानको सुरक्षा प्रवन्ध मजबुत बनाएका छौं।’
उनले श्रीलंका आक्रमणपछि छिमेकी देश भएकाले नेपालमा समेत त्यसको प्रभावपर्न सक्ने आकंलनका साथ सुरक्षा हाई अर्लट पारिएको जानकारी दिए। ‘उपत्यका पूर्ण सुरक्षित छ,’ डिआईजी क्षेत्रीले भने ‘त्यही पनि सुरक्षामा कुनै कमि नरोहस भन्नका लागि सबै इकाईलाई सर्तकताका साथ परिचालन गरिएको हो।’
महानगरीय प्रहरी कार्यालयले आइतबारदेखि नै उपत्यकामा रहेका होटल तथा रेष्टुरेन्ट सञ्चालकसँगको समन्वय र सहकार्यमा क्लोज सर्किट क्यामरासहितका सुरक्षा प्रवन्धको चेकजाँच गरिरहेको हो।
पर्यटकको आगमन बढी हुने स्थानमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ। विमानस्थल र हावाईमार्ग भएर उपत्यका भित्रने बाहिरीने यात्रु तथा उनीहरुको लगेजको चेकजाँचमा समेत कडा पारिएको छ।



लाेकपाटी न्यूज

