कञ्चनपुर, ९ वैशाख। कञ्चनपुरको भीमदत्तनगरपालिका स्थित मुक्त हलिया वस्तीमा पहिलोपटक संघिय मन्त्रीले वस्तीको अनुगमन निरिक्षण गरेकी छिन्।
आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याल भिमदत्त नगरपालिकाको वडा नम्बर १९ स्थित बागफाटा र वडा नम्बर १ स्थित बाह्रकुण्डाको हलिया बस्तीमा पहिलो पटक पुगेकी हुन्। आफ्नो वस्तीमा पहिलोपटक मन्त्री उपस्थित भएर आफ्नो समस्याका बारेमा जानकारी लिएपछि स्थानीय हलियाहरुले आफ्नो समस्या समाधान हुने अपेक्षा गरेका छन्।
हलिया मुक्त भएको लामो समय भइसक्दा पनि हालसम्म पुर्नस्थापना हुन नसक्दा आफुहरु समस्यामा परहेको भन्दै गुनासो गर्दै आएका मुक्त हलियाले त्यस अवसरमा अब समस्याको समाधान हुने आशा व्यक्त गरे। विगतमा स्थानीय राजनैतिक दलका प्रतिनिधीहरुले आफुहरुको मुद्दा उठाएपनि पुर्नस्थापनामा पहल नगरेको उनीहरुको गुनासो छ।
आफ्नो बस्तीमा पहिलोपटक मन्त्री पुगेपछि हर्षित भएका स्थानीयले मन्त्री समक्ष शिक्षा स्वास्थ्य लगाएतका आधारभूत आवश्यक्ता परिपूर्तिको माग गरेका थिए। सरकारले आवास निर्माणका लागि उपलब्ध गराउदै आएको रकमबाट भवन निर्माणमा नपुग्ने भन्दै मुक्त हलिया समाजका अगुवा सीबी लोहारले रकम थप गर्न माग गरेका थिए। ‘हामीलाई त्यो रकम पुग्दैन’ उनलेभने, ‘मन्त्रीज्यूले पहिलो पटक बस्तीको अवलोकन गरेपछि रकम बढ्ने अपेक्षा गरेका छौं।’
बिगतमा बधुवा मजदुरसरह जिविकोपार्जन गरेका उनीहरु अहिले लामो समयदेखि पुर्नस्थापनाको पर्खाइमा छन्। राष्ट्रिय मुक्त हलिया महासंघका अध्यक्ष इश्वर सुनारले समाजको तर्फबाट मन्त्री अर्याललाई ज्ञापन पत्र बुझाएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले यसै वर्ष पुर्नस्थापनाको काम सम्पन्न हुने बताइन्।
यसै वर्ष मुक्त हलैयाको पुर्नस्थापनाको सम्पुर्ण काम सम्पन्न गर्ने गरी सरकार अगाडी बढेको मन्त्री अर्यालले बताइन्। ‘अहिलेसम्म सबै काम सम्पन्न हुनुपर्ने थियो तर भएन, अब त्यस्तो हुँदैन’ मन्त्री अर्यालले भनिन्, ‘यसै वर्ष सबै काम सम्पन्न हुन्छ।’ संघीय सरकारले आगामी वर्षको बजेटमा मुक्त हलियाको रोजगारीका लागि विभिन्न कार्याक्रमहरु समावेश गर्ने तयारी भइरहेको मन्त्री अर्यालले बताइन्।
मन्त्री अर्यालले मुक्त हलियाको पुर्नस्थापनाको सम्पुर्ण काम यसै वर्ष सम्पन्न गर्नेगरी सरकार लागेको बताइन्। त्यसै अन्तर्गत अहिले मुक्त हलियाको बसोबास रहेको सबै जिल्लामा पुर्नस्थापनाको काम तिब्र गतिमा चलिरहेको उनको भनाई थियो। यसैगरी सरकारले एकिकृत वस्ती निर्माण कार्य गरिरहेको बागफाटा र बाह्रकुण्डाको एकिकृत वस्ती निर्माण सम्पन्न गर्न मन्त्री अर्यालले निर्देशन दिइन्।
हलिया पुर्नस्थापनाका निम्ती भइरहेको एकिकृत वस्ती छिटो निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिँदै उनले जेठ महिनामै निर्माण सम्पन्न गरेर उद्घाटन गरी सबै घरहरुको चाबी हस्तान्तरण गर्ने प्रतिवद्धता समेत मन्त्री अर्यालले व्यक्त गरिन्। कञ्चनपुरको बागफाँटा मुक्त हलिया वस्तीमा ३६ घर र बाह्रकुण्डामा ३७ घर हलिया वस्तीको भवन निर्माण कार्य अन्तिम चरणमा रहेका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पुर्नस्थापनाको काम गरिरहेको छ। जसमा ह्याविट्याट फर ह्युमानिटी नेपालले प्राविधिक तथा सामाजिक परिचालनमा सहयोग गर्दै आएको छ।
गत आर्थिक वर्षको सरकारी तथ्यांकअनुसार १६ हजार ९ सय ५३ घरधुरी मुक्त हलिया रहेका छन्। जसमध्ये गत असार सम्म १२ हजार ५ सय ५६ वडा कार्ड प्रमाणित भएर ११ हजार ६ सय ६८ घरधुरीलाई कार्ड बितरण गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सूचना अधिकारी उपसचिव गोपाल गिरीले जानकारी दिए। जसमध्ये हालसम्म ७ हजार २ सय २८ पुर्नस्थापना भइसकेको छ। अहिले सरकारले यसै आर्थिक वर्षमा पुर्नस्थापनाको काम सम्पन्न गरिसक्नेगरी काम अगाडी बढाएको छ।
सुदुर पश्चिमका ९ जिल्ला र कर्णाली प्रदेशका हुम्ला, जाजरकोट र सुर्खेत जिल्लामा मुक्त हलिया रहेका छन्। हलिया मुक्त गरेको १४ वर्ष बितिसक्दा पनि पुर्नस्थापनाको काम नसकिएपछि सरकारले यस वर्ष सम्पुर्ण पुर्नस्थापनाको काम सम्पन्न गर्ने योजना बनाएर काम अगाडी बढाएको हो।
यसैबिच मन्त्री अर्यालले महेन्द्रनगरस्थित भूमिसुधार कार्यालय र नापी कार्यालयको अनुगमन, निरिक्षण गरेकी छिन्। कार्यालयको निरिक्षण गर्दै मन्त्री अर्यालले मन्त्रालय मालपोत र नापी कार्यालयलाई नमुना बनाउनेगरी अगाडी बढेको भन्दै उनले त्यही स्प्रिटका साथ काम गर्न कर्मचारीहरुलाई आग्रह गरिन्। केही कार्यालयमा अनलाइन सेवा शुरु गरेको भन्दै उनले अनलाइनका कारण सेवा ढिलो भयो भन्ने महसुस जनतालाई हुन नदिन मन्त्री अर्यालले कर्मचारीलाई निर्देशन दिइन्।
त्यस अवसरमा भूमिसुधार कार्यालय महेन्द्रनगरका प्रमुख धर्मानन्द भट्टले कार्यालयका समस्याहरुको बारेमा जानकारी गराएकी थिइन्। यसैबीच त्यस अवसरमा मन्त्री अर्यालले जिल्ला समन्वय समिती कञ्चनपुरमा समेत जिल्लाका कार्यालय प्रमुख एवं स्थानीय पालिकाका प्रमुख एवं उपप्रमुखहरुसँग छलफल गरेकी थिइन्।



लाेकपाटी न्यूज

