काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकताको सम्पूर्ण प्रक्रियामा सहमति जुटेको छ। आइतबार साँझ बसेको सचिवालय बैठकले एकताको टुंगो लगाएको हो।
पार्टी एकता टुङ्गाउन अध्यक्षद्वय केपी शर्मा ओली, प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल र महासचिव विष्णु पौडेलबीच निर्णायक छलफल भएको थियो। शीर्ष तहमा सहमति जुटेपछि नेकपाले सचिवालयको बैठक बसेर एकता टुंगाएको हो।
नेकपा स्रोतले दिएको जानकारीअनुसार ४२ जिल्लाको अध्यक्ष पूर्वएमालेका नेता रहनेछन्। त्यसैगरि ३५ जिल्लामा पूर्वमाओवादी समूहबाट अध्यक्ष चयन भएका छन्। पूर्वएमालेको कोटामा अध्यक्ष परेका ठाउँमा पूर्वमाओवादी कोटाबाट सचिव चयन गरिएको छ भने पूर्वमाओवादी अध्यक्ष भएका ठाउँमा पूर्वएमालेबाट सचिव चयन गरिएको छ।
लामो समयदेखि सहमति जुट्न नसकेपछि नेतृत्व चयनका लागि नेकपाले नयाँ कार्यविधिमा सहमति जुटाएको हो। नयाँ कार्यविधिअनुसार पूर्वएमालेको कोटा परेका जिल्लामा पूर्वएमालेकै साविकका जिल्ला अध्यक्षहरु नै अध्यक्ष भएका छन्। त्यसैगरि पूर्वमाओवादीको कोटामा परेका जिल्लामा पनि पूर्वमाओवादीकै जिल्ला अध्यक्ष अध्यक्ष भएका छन्।
सचिवमा पनि पूर्वएमालेको कोटा परेका जिल्लामा पूर्वएमालेकै जिल्ला सचिवले सचिवको जिम्मेवारी पाएका छन् भने पूर्वमाओवादीको कोटामा पनि यही कार्यविधि लागू गरिएको छ। जनप्रतिनिधिलाई दोहोरो जिम्मेवारी नदिने कार्यविधिमा संशोधन गर्दै नेकपाले नयाँ निर्णय गरेको हो।
बैठकले स्थायी समितिको तीन गुणा बढ्ने गरी पोलिट्ब्यूरो गठन समेत गरेको छ। यसअघि पोलिट्ब्यूरो गठन गर्ने कि नगर्ने भन्नेमा नेकपामा अन्यौल रहँदै आएको थियो। पोलिट्ब्यूरोको नामावली पार्टी स्थापना दिवसको दिन घोषणा गरिनेछ।
जनवर्गीय संगठनको नेतृत्वमा पनि मुल रुपमा सहमति जुटेको छ। जुटेको सहमतिलाई भोलिको पार्टी स्थापना दिवसका अवसरमा आयोजना गरिएको समारोहमा सार्वजनिक गरिनेछ। नेकपाले भोलि वैशाख ९ गते भव्य समारोहका बीच पार्टी स्थापना दिवस मनाउँदैछ।



लाेकपाटी न्यूज

