श्रीलङ्का, ८ वैशाख । श्रीलङ्कामा भएको आतङ्कवादी हमलाले दक्षिण एसियामा नै त्रास फैलाएको छ । श्रीलङ्का सरकारले आइतबार बेलुका ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मका लागि कफ्र्यू समेत जारी गरेको छ । सामाजिक सञ्जालले भ्रामक समाचार फैलाएको भन्दै फेसबुक, इन्स्टाग्राम लगायतका सञ्जालहरु पनि बन्द गराएको छ ।
विश्वभरबाट उक्त आतंककारी हमलाको घोर भत्र्सना भइरहेको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हमलाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अपराह्न श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिंघेसँग फोनमा कुराकानी गर्दै बम बिस्फोटनको घटनामा कैयौं निर्दोषहरुको ज्यान गएकोमा दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले फोन वार्ताका क्रममा आफ्ना समकक्षी मार्फत श्रीलङ्काली जनताप्रति हार्दिक समवेदना प्रकट गरेको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले फोन संवादका क्रममा नेपाल सरकारले जुनसुकै रंग र रुपको आतंकवादको विरुद्धमा उभिने आफ्नो सैद्धान्तिक अडानअनुसार मानवता विरोधी घटनाको भत्सर्ना गरेको बताए । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इस्टर सन्डेमा भएको विस्फोटमा ज्यान गुमाएकाप्रति श्रद्धान्जली अपर्ण गरेका छन् । उनले ट्विट गर्दै आवश्यक सहयोग गर्न तयार भएको समेत बताएका छन् ।
टर्कीका राष्ट्रपति रसेप टाइप इर्डोगनले सम्पूर्ण मानवमाथिकै ठाडो प्रहार भएको बताएका छन् । उनले ट्विटमा लेखेका छन्, इस्टरमा भएको आतंकवादी हमला मानवमाथि नै प्रहार भएकोले घोर भत्र्सना गर्दछु । टर्कीका नागरिककातर्फबाट उक्त विस्फोटमा ज्यान गुमाउने सम्पूर्णलाई हार्दिक श्रद्धान्जली तथा घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।ू
त्यसैगरी जर्मन चान्सलर एन्जेला मर्केल, फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोन, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज, यूरोपियन कमिसनका सभापति जिन क्लाउड जन्केरलगायतले पनि हमलाको घोर भत्र्सना गर्नुका साथै विस्फोटमा ज्यान गुमाएकाप्रति श्रद्धान्जली र आफन्तलाई समवेदना तथा घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन् ।
पोप फ्रान्सिसले पनि उक्त क्रूरतापूर्ण हमलाको निन्दा गरेका छन् । इरानका विदेशमन्त्री जाभाड जारिफले ट्वीट गर्दै आतंकवादको कुनै धर्म नहुने भएकोले विश्वव्यापी रुपमा हमला भइरहेको बताएका छन् । उनले मृतकप्रति श्रद्धान्जली तथा घाइतेको स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रका नाममा सम्बोधन गर्दै शान्त रहन जनतालाई अपिल गरेका छन् । सुरक्षाको उचित बन्दोबस्तका लागि सुरक्षाकर्मी खटाइएको र आक्रमणकारीको खोजी गर्ने उनले बताएका छन् । श्रीलंकाका अर्थमन्त्री मंगल समरवीरले निर्दोष मानिसहरूको ज्यान लिँदै अराजकता सिर्जना गराउने प्रयासस्वरूप ती विस्फोट गराइएको भन्दै प्रजातन्त्र, स्वतन्त्रता र आर्थिक समृद्धि चाहने सबैलाई एकजुट हुन आग्रह गरेका छन्।
अहिलेसम्म आक्रमणको जिम्मा कसैले लिएको छैन । घटनाबारे गुप्तचर निकाय, प्रहरी र सेनाले अनुसन्धान गरिरहेको छ। आठवटा विस्फोटमध्ये अधिकांश आत्मघाती विस्फोट गराएको बताइएको छ।



लाेकपाटी न्यूज

