काठमाण्डौं, ८ वैशाख । विवेकशील नेपाली दलले निकट भविष्यमा आयोजना गर्न लागेको राष्ट्रिय सम्मेलनका लागि आयोजक समितिमा रहने प्रतिनिधि अनलाइन निर्वाचन पद्धतिबाट चयन गर्न थालेको छ ।
राष्ट्रिय सम्मेलन आयोजक समितिका लागि हरेक प्रदेशबाट २÷२ प्रतिनिधि अनलाइन निर्वाचन पद्धतिबाट चयन गर्न लागेको विवेकशील नेपाली दलले जनाएको छ । दलले शुक्रबार प्रदेश नम्बर ३ र प्रदेश नम्बर ८ बाट राष्ट्रिय सम्मेलन आयोजक समितिका लागि २÷२ जना प्रतिनिधि अनलाइन निर्वाचन पद्धतिमार्फत चयन गरेको छ ।
प्रदेश नम्बर ३ बाट सरला लामिछाने र सन्जिव भट्टराई तथा प्रदेश ८ बाट सारा प्याकुरेल र सुरेश भट्ट आश्रिनले सर्वाधिक मत ल्याएर प्रतिनिधिमा चयन भएको विवेकशील नेपाली दलले जानएको छ।

विवेकशील नेपाली दलले प्रवास समितिलाई ८ नम्बर प्रदेश मानेको छ । राष्ट्रिय सम्मेलनका लागि २१ जना प्रतिनिधि छनौट गर्ने क्रममा २ वटा प्रदेशको छनौट भइसकेको र बाँकी प्रदेशमा पनि छिट्टै प्रतिनिधि छनौट प्रकृया सक्ने विवेकशीलले जनाएको छ।
विवेकशीलका अनुसार अनलाइन निर्वाचन पद्धतिका लागि ब्यालट बिन नामक सफ्टवेयरको प्रयोग गरिएको छ र यसबाट परिणाम पनि उतिबेलै सार्वजनिक हुनेछ । ब्यालेट छपाइ, छाप तथा कर्मचारी तलब भत्तामा खर्च हुने निर्वाचन पद्धतिभन्दा अनलाइन निर्वाचन पद्धति कम खर्चमै सरल तरिकाले सम्पन्न गर्न सकिने छ।
अनलाइन निर्वाचन पद्धतिबाट मत दिन मतदाता पनि लाइन बस्न नपर्ने र समयको पनि बचत हुने हुँदा राष्ट्रिय निर्वाचनमा पनि यस्तै प्रविधि अंगाल्नुपर्ने आवश्यकता देखिएको विवेकशीलको भनाइ छ।
वि.सं २०७४ मा भएको तिनै तहको चुनावमा नेपालभन्दा बाहिर रहेका मतदाता मत हाल्नबाट वञ्चित भएका थिए । अब हुने निर्वाचनहरुमा भने प्रविधिको प्रयोग गर्दै अनलाइनमार्फत नै भोट हाल्न पाउने व्यवस्था मिलाउन दबाब दिन पनि आफूहरुले अनलाइन पद्धतिमार्फत प्रतिनिधि चयन गरेको विवेकशील नेपाली दलले जनाएको छ ।



लाेकपाटी न्यूज

