जाजरकोट, ८ वैशाख । वातावरणीय प्रभाव मूल्याङ्कन र लागत अनुमान स्पष्ट नहुँदा १३२ केभी प्रसारण लाइनको सबस्टेशन निर्माणमा ढिलाइ भएको छ । ढिलाइका कारण चार जिल्लामा दैनिक विद्युत् आपूर्ति हुन सकेको छैन ।
त्यस्तै कोहलपुरदेखि जाजरकोटसम्म ३३ केभी प्रसारण लाइनको विद्युत् आपूर्तिमा पनि समस्या आउने गरेको छ । सो प्रसारण लाइनको सबस्टेशन ६० किलोमिटरको दूरीमा राखिनुपर्नेमा कोहलपुरदेखि जाजरकोटसम्म १५० किलोमिटरभन्दा लामो दूरीमा राखिएकाले विद्युत् सेवा अवरुद्ध हुँदै आएको विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रका प्रमुख लोकबहादुर खड्काले बताए ।
सोही कारण सुर्खेत, दैलेख र रुकुम पश्चिम क्षेत्रमासमेत विद्युत प्रवाहमा बाधा हुँदै आएको छ । कर्णाली प्रदेशमा १३२ केभी प्रसारण लाइनको सबस्टेशन नहुँदा जाजरकोट र सुर्खेतका बासिन्दाले विद्युत् उपभोग गर्न नपाएका उनको भनाइ थियो ।
सबस्टेशनको दूरी घटाउन र नियमित विद्युत् आपूर्ति गर्न कर्णाली प्रदेशमा पनि सबस्टेशन निर्माण गर्न जरुरी रहेको उल्लेख गर्दै प्रमूख खड्काले भने, ‘३३ केभी प्रसारण लाइनका लागि एक सबस्टेशनबाट अर्को सबस्टेशनसम्मको दूरी ६० किलोमिटर हुनुपर्ने हो तर कोहलपुरमा रहेको १३२ केभी सबस्टेशनबाट जाजरकोटको कुदुमा रहेको ३३ केभी प्रसारण लाइनको सबस्टेशनसम्मको दूरी १५० किलोमिटर छ,’ ।
त्यस्तै एक सबस्टेशनबाट अर्को सबस्टेशनबीचको दूरीमा ट्रान्सफर्मर नराख्नुपर्नेमा कोहलपुरदेखि कुदुसम्म पाँच दर्जन ट्रान्सफर्मर निर्माण गरिएका छन् भने ३३ केभीबाट सिधै ग्राहकलाई विद्युत उपलब्ध गराउँदा ग्रामीण क्षेत्रको एलौटी लाइनमा सामान्य समस्याले पनि समग्र विद्युत सेवा नै प्रभावित हुनाका साथै जाजरकोटमा पनि एकै दिनमा धेरै पटक विद्युत् सेवा अवरुद्ध हुने गरेको छ । केन्द्रीय विद्युत्लाइन नियमित नहुँदा भेरी नगरपालिकालगायत जिल्लाका तीन हजार बासिन्दा समस्यमा पर्ने गरेका छन् ।
३३ केभी प्रसारण लाइनको सबस्टेशन भेरी नगरपालिका १३ स्थित कुदुमा निर्माण गरिएको छ । तीन वर्षअघि निर्माण शुरु गरिएको उक्त सबस्टेशन गत महिनादेखि सञ्चालनमा आएको हो । त्यस्तै नलगाड नगरपालिकाको वडा नं १२ मा र छेडागाड नगरपालिकाको वडा नं ५ मा पनि सबस्टेशननिर्माण गर्न लागिएको र चालु आर्थिक वर्षभित्र यस जिल्लाका सातवटै स्थानीय तहको केन्द्रसम्म केन्द्रीय प्रसारण लाइन पु¥याउने योजनाका साथ काम भइरहेको प्रमूख खड्काले जानकारी दिए ।
यसवर्ष भेरी नगरपालिकाको पूरै वडा, कुशे गाउँपालिका–५ र छेडागाड नगरपालिका– १२ तथा १३ मा बिजुली बाल्ने योजना रहेको उनले बताए । एकसय बत्तीस केभी प्रसारण लाइनको सबस्टेशन सुर्खेतको सुब्बाकुनामा निर्माण हुने भनिएको भए पनि अझै गति लिनसकेको छैन् ।
सबस्टेशन निर्माणका लागि अहिले जग्गा मात्र लिइएको बताइएको छ । न्यू बुटबल कोहलपुर सुर्खेत, माथिल्लो कर्णाली ४०० केभी प्रसारण लाइन आयोजनाका प्रमूख अविशेक अधिकारीका अनुसार इटालीको परामर्शदाता कम्पनीको प्रतिवेदन आएपछि १३२ केभी प्रसारण लाइनको काम अगाडि बढ्ने छ । वातारणीय प्रभाव मूल्याङ्नको काम अहिले भइरहेकाले यो टुङगो नलागेसम्म अन्य काम अगाडि बढ्न नसक्ने उनले बताए ।
कोहलपुरबाट ३३ केभी प्रसारण लाइनबाटै बर्दीया, सुर्खेत, दैलेख, रुकुम पश्चिम चौरजहारी र जाजरकोटमा विद्युत् आपूर्ति हुँदै आएको छ । विद्युत् प्रसारणका लागि जोडिएका पोल होचा भएका कारण सामान्य समस्य आउने बितिकै पटकरपटक विद्युत अवरुद्ध हुने गरेको छ ।



लाेकपाटी न्यूज

