चितवन, ८ वैशाख। पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्यायसहितको आर्थिक समृद्धि र समाजवादोन्मुख राज्यका निम्ति सहकारीको भूमिका बढाउनुपर्ने बताएका छन्।
जिल्ला सहकारी सङ्घ चितवनले आइतबार निर्माण गरेको साझा पेट्रोल पम्पको आइतबार उद्घाटन कार्यक्रममा उनले समुदायमा सहकारीले महत्वपूर्ण योगदान दिएको बताए। तीन खम्बे अर्थ नीतिअन्तर्गतको सहकारी अन्ततः सामाजिक न्यायसहितको आर्थिक समृद्धिको अनिवार्य सर्त भएको भन्दै उनले समाजवादोन्मुख राज्यको परिकल्पना गरिएको बताए।
उनले भने, “हामी सबै प्रमुख राजनीतिक दल र नेताले राष्ट्रिय सहमतिका साथ एउटा सङ्कल्प गरेका छौँ, हामी सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ नेपाललाई लिएर जाने छौँ। ” संविधानले नै अर्थ नीतिको परिकल्पना गर्दा तीन खम्बे नीति भनेर सार्वजनिक, निजी र सहकारीको सहकार्यमा देशको अर्थतन्त्रलाई अगाडि बढाउने स्पष्ट निर्देश गरेको उनले बताए।
संविधानअनुसार नै आवश्यक नियम ऐन बन्ने प्रक्रिया अगाडि बढिरहेको उनले बताए। प्रचण्डले नेपालको पहिलो सहकारी बखान सहकारी चितवनमा नै रहेको भन्दै सहकारी अभियानको संस्थापक जिल्ला भएको बताए। देशमा विकास निर्माणका थुप्रै रेकड राख्ने काम हुँदै गएकोमा धेरै चितवनमा हुने भन्दै त्यसको पनि केन्द्र भरतपुर महानगर रहने बताए।



लाेकपाटी न्यूज

