काठमाडौं, ८ वैशाख। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएको दुई दिन सरकारले हतियार बुझाउन ३५ दिने सूचना जारी गर्यो।
सरकारले दिएको ३५ दिने सीमामा विप्लव समूहको नामबाट एक थान पनि हतियार प्रशासनलाई बुझाइएको छैन।३५ दिनमा देशभरिबाट २ सय ५९ थान हतियार प्रशासनमा बुझाइएका छन्। जसमध्ये १ सय ७१ इजाजतप्राप्त र ८८ वटा अवैध थिए। बुझाइएकामध्ये अधिकांश भरूवा बन्दुक छन्।
‘सरकारले हतियार बुझाए कारबाही नगर्ने भनेपछि सर्वसाधारण मान्छेले बुझाइएका हतियार हुन् यी,’ प्रहरी प्रवक्ता उत्तम सुवेदीले भने, ‘विप्लव समूहको नामबाट हतियार बुझाइएको कहीँ कतैबाट जानकारी आएको छैन।’ प्रहरी तथा नेपाली सेनाले विप्लव माओवादीसँगै थुप्रै आधुनिक अतियार रहेको बताएको छ। सरकारले प्रतिबन्ध लगाएर नेता तथा कार्यकर्ता पक्राउलाई तीव्र बनाए पनि विप्लवले हतियार बुझाउन नमानेको गृहको भनाइ छ।
सरकारले गत फागनु २८ गते विप्लव माओवादीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। त्यसको दुई दिनपछि अवैध तथा वैध हतियार बुझाए कारबाही नगर्ने भन्दै गृहले ३५ दिनभित्र हतियार बुझाउन भनेको थियो। यो समय शुक्रबार सकिएको छ। यो अवधिमा विप्लव समूहबाट हतियार नबुझाइनु, वार्ताको वातावरण तयार नहुनुले विप्लव माओवादी तत्काल शान्तिपूर्ण मूलधारमा आउन नचाहेको बुझ्नु पर्ने गृहका उच्च अधिकारीहरू बताउँछन्।
‘विध्वंसात्मक गतिविधि रोकिएको छैन, यस्तो गतिविधि नरोकिएसम्म वार्ताको वातावरण हुन्न,’ गृहसचिव प्रेमकुमार राईले भने, ‘हतियार बुझाएर विध्वंसात्मक गतिविधि त्यागेको खण्डमा मात्र वार्ताको वातावरण बन्यो भन्ने बुझ्नुपर्छ।’ ३५ दिनमा विप्लव समूहबाट हतियार बुझाए वार्ताको लागि संवाद गर्ने सरकारको योजना थियो।
गृहमन्त्री रामबहादुर थापा आफैं विप्लवसँग वार्ता गर्ने मनस्थितिमा पुगेका थिए। तर, विप्लव समूहबाट बम बिस्फोट, बन्द हडताललगायतका गतिविधि नरोकिएपछि गृह तत्काल वार्ता गर्ने पक्षमा छैन। ‘बम पड्काउने, बन्द हडतालका गतिविधि जारी रहेको अवस्थामा वार्ता हुन सक्दैन,’ गृह मन्त्रीनिकट स्रोतले भन्यो।
सरकारले प्रतिबन्ध लगाएपछि विप्लवका पोलिटब्युरो सदस्य हेमन्तप्रकाश ओलीसहित ठूला नेता पक्राउ परेका छन्। उनीहरूलाई प्रहरीले विभिन्न मुद्दा चलाइरहेको छ। विप्लव समूहसँग नेपाली सेना र सशस्त्र प्रहरीले बोक्ने आधुनिक स्वचालित हतियार रहेको सुरक्षा निकायको भनाइ छ।



लाेकपाटी न्यूज

