काठमाडौं, ८ वैशाख । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि नै जिल्ला संगठन र जनसंगठनको नेतृत्व घोषणा हुने गरी तयारी भएको बताएका छन् ।
पार्टी स्थापनाको ७० औँ वर्षको अवसरमा बाेल्दै प्रचण्डले आज साँझ ६ बजेका लागि सचिवालय बैठक डाकिएको र त्यसअघि साँझ ५ बजे दुई अध्यक्षबीचको छलफलबाट प्रस्तावलाई अन्तिम रुप दिने बताएका हुन् । उनले पार्टी एकताको सन्दर्भमा हामीले ३ महिनाभित्र पार्टी एकतालाई तलैसम्म टुङ्ग्याउने घोषणा गरे पनि १२ महिना बित्न लाग्दा पनि पार्टी एकतालाई अन्तीम रुप दिन अझैं बाँकी रहेको बताए ।
उनले भने, ‘भर्खरै बालुवाटारमा हामीले पार्टी एकताका बाँकी कामहरु खासगरि जिल्ला कमिटी निमार्णसँग जिल्लाको नेतृत्व निमार्ण गर्ने कामहरु र जन संगठनको एकतासँग सम्बन्धित कामहरुलाई भोली नै घोषणा गर्ने गरी तयारीको बैठकबाट म तपाईंहरुको अगाडी आएको छु।’
राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा प्रचण्डले दुई जना कमरेडलाई दिनभर तयारी बैठक गर्न निर्देशन दिइएको बताए। ‘अनुहार हेरेर मूल्याङ्कन गर्ने अवस्था छैन। सिद्धान्त तोकेर निर्णय गर्छौं,’ दाहालले भने,‘अब एकता टुंगियो। पार्टी केन्द्रको तर्फबाट कार्यक्रम राखेका छौं। सचिवालय बैठकको निर्णयको भोलि घोषणा हुनेछ। दुई अध्यक्षबाट सम्बोधन गर्ने कार्यक्रम छ।’
उनले पार्टीको विधानमा समेत विगतमा बनेको कार्यदलले दिएको प्रतिवेदन अनुसार पूनरावलोकन गर्ने बताए। ‘विधानमा रिभ्यु गरेर छिट्टै छाप्ने तयारी गरेका छौँ,’ दाहालले भने, ‘विधानलाई अन्तिम रुप दिइएको छ।’
यस्तै अध्यक्ष प्रचण्डले आज सचिवालयले गर्ने पार्टी एकता सम्बन्धि निर्णयको घोषणा भोलिको पार्टी स्थापना दिवसको सन्दर्भमा गरिने समेत बताएका छन्।उनले भने, ‘घोषणापछि नेपालको एउटा नयाँ अभियान शुरु हुन्छ । हाम्रमा कामहरु केहि ढिलो पक्कै भएका छन् । तर, अब एकता टुङ्गगियो त्यसमा कुनै शङ्का नलिनुस् ।
यसअघि आजै बिहान प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, दाहाल,बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीच बालुवाटारमा छलफल भएको थियो।



लाेकपाटी न्यूज

