श्रीलङ्कामा बिस्फोट : मृतकको संख्या १ सय ३८ पुग्यो

shirlanka
लाेकपाटी न्यूज

कोलम्बो, ८ वैशाख। श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं चर्चमा आइतबार भएका शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या १ सय ३८ पुगेको प्रहरीले जनाएको छ।

बिस्फोटका कारण अरु ५ सय भन्दा बढी घाइते भएका छन्।पहिलो बिस्फोट राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको सेन्ट सेबास्टियन चर्चमा भएको थियो।

चर्चमा बिस्फोट भएलगत्तै राजधानीका तीनवटा होटलमा पनि आक्रमण भएको प्रहरीले जनाएको छ।राजधानी कोलम्बोका साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरी होटलमा पनि बिस्फोट भएका छन्।

मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको एक चर्चमा पनि बिस्फोट भएको छ। बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन्।

गिर्जाघरमा बिस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी रहेको बताइएको छ।घटनाको जिम्मेवारी कसैले लिएको छैन।