काठमाडौं, ८ बैशाख। नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध कडा प्रतिकारमा उत्रने चेतावनी दिएको छ।
आफ्नो पार्टीमाथि दमन नरोकिए सरकारविरुद्ध कडा प्रतिकारमा उत्रने चेतावनी दिएको हो। चन्द नेतृत्वको नेकपाका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएको छ।
महासचिव नेत्रविक्रम चन्दले विज्ञप्ति जारी गर्दै सरकारले आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई पक्राउ गरेर यातना दिइरहेको भन्दै दमन नरोके प्रतिकार गर्न बाध्य हुने चेतावनी दिएका हुन्।
उनले सशक्त प्रतिरोधका लागि आफूहरुलाई बाध्य नपार्न समेत सरकारलाई सचेत गराएका छन्। सरकारले आफ्नो पार्टीमाथिको प्रतिबन्ध नहटाए सशक्त प्रतिरोध गर्न बाध्य हुने विज्ञप्तिमा चेतावनी दिइएको छ।
प्रहरीले शुक्रबार मात्रै सो पार्टीका केन्द्रीय सदस्यहरु चुडामणि ओली र चन्द्रबहादुर खड्कालाई पक्राउ गरेको छ। त्यसलगत्तै विज्ञप्ति जारी गर्दै चन्दले गिरफ्तार गरिएका सबै नेता तथा कार्यकर्ताको रिहाइको माग गरेका छन्।



लाेकपाटी न्यूज

