काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसर पारेर सोमबार राजधानीमा विशेष कार्यक्रम आयोजना हुने भएको छ। कमलादीस्थित प्रज्ञा भवनमा मध्यान्ह नेपाल कम्युनिष्ट पार्टीले विशेष कार्यक्रमको आयोजना गर्ने भएको हो।
मध्यान्ह १२ बजेबाट शुरु हुने कार्यक्रममा प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल लगायतले सम्वोधन गर्ने कार्यक्रम रहेको छ। नेकपाले सोमबार नै एकता टुंगिएको घोषणा गर्ने तयारी समेत गरेको छ।
प्रदेश र केही जिल्लामा एकता टुंग्याएपनि जिल्ला, जनवर्गीय संगठन, विभागहरुको एकता टुंगिन सकेको छैन। यसका लागि शीर्ष नेताहरुबीच केही दिनदेखि निरन्तर छलफल चलिरहेको छ। नेताहरु अनौपचारिक रुपमा लगभग टुंगोमा पुगे पनि केही विषयमा अझै पनि सहमति जुट्न सकेको छैन।
सहमति जुटाउने प्रयास भइरहेको नेताहरुले बताएका छन्। केही दिनअघि प्रधानमन्त्री ओलीले पनि नेकपाको एकता भव्य रुपमा सम्पन्न गर्ने बताएका थिए। अध्यक्ष प्रचण्डले पनि नेकपाका नेता कार्यकर्तालाई सकरात्मक सन्देश आउने घोषणा एकतामा टुंगो पुग्ने बताउँदै आएका छन्।
निरङ्कुश राणाशाही विरोधी जनआन्दोलनको पूर्वसन्ध्यामा २२ अप्रिल, १९४९ का दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो। राणाशाही विरोधी आन्दोलनलाई सही दिशावोध गर्दै सामन्तवाद र साम्राज्यवाद विरोधी आन्दोलनको रूपमा अगाडि बढाउन र राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई अगुवाइ गर्न नेकपा स्थापना भएको थियो।
२००६ साल वैशाख १० गते स्थापना भएको नेकपामा पुष्पलाल श्रेष्ठ संस्थापक महासचिव थिए। त्यसैगरि नरबहादुर कर्माचार्य, नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य नेकपाका संस्थापक सदस्य थिए।



लाेकपाटी न्यूज

