ओहो ! गाईको गहुत कति महङ्गो, प्रतिलिटर कति ?

calf2
लाेकपाटी न्यूज

प्युठान, ७ वैशाख । प्यूठानमा गाईबाट संकलित मूत्र प्रशोधन गरी औषधिको रुपमा बिक्री गरिदैँ आएको छ ।

प्युठानको स्वर्गद्धारी आश्रममा रहेका गाईको मूत्र प्रशोधन गरी औषधिको रुपमा बिक्री गर्न सुरु गरिएको हो ।आश्रममा रहेका ३ सय ५० गाईबाट दैनिक ४० लिटर बढी मूत्र संकलन हुँदै आएको छ । संकलित मूत्रलाई प्रशोधन गरी ग्याष्ट्रिक तथा पेटका अन्य समस्यामा औषधीको रुपमा प्रयोग गर्न सकिने गरी गौअर्घको रुपमा बिक्री गर्न सुरु गरिएको हो ।

झण्डै १ महिना अघिदेखि गौअर्घको रुपमा प्रशोधित गाईको मूत्र बिक्री गर्न सुरु गरिएको आश्रममा रहेका बाबुराम न्यौपानेले जानकारी दिए । ८० लिटर गाई मूत्रलाई उमालेर बाफ निकाल्दै पूरै प्रशोधित गर्दा ४० लिटर गौअर्घ उत्पादन हुने न्यौपानेले जानकारी दिए ।

गौअर्घको मूल्य प्रतिलिटर १ सय ५० रुपैया राखिएको छ । आश्रममा एक सय घनमिटरको गोबर ग्यास प्लाण्ट भएपनि चिसोका कारण पूरै क्षमतामा सञ्चालन हुन सकेको छैन । गाईहरुलाई पानी कुडो खुवाउन सजिलो होस् भनेर बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र आश्रममा सोलार पनि राखिदिएको छ । राप्ती अञ्चल अन्र्तगत प्यूठानको अग्लो शैलशिखरमा रहेको पावन क्षेत्र स्वर्गद्धारी आश्रमको स्थापना १९५२ मा बालतपस्वी महाप्रभुबाट भएको जनविश्वास छ ।

प्राचीन समयमा स्वर्गद्धारी क्षेत्र यज्ञभूमिको रुपमा प्रसिद्ध थियो । वेदव्यास जस्ता त्रिकालदर्शी महर्षिहरुले यही ठाउँमा यज्ञ गरेको तथा महाभारतका पाँचपाण्डवले तपस्या गरेर स्वर्ग प्रस्थान गरेको जनश्रुति पनि रहँदै आएको छ । आश्रममा २०५२ सालदेखि अखण्ड यज्ञ चल्दै आएको छ ।

स्वर्गद्धारीमा यज्ञका लागि २४ जना पूजारी, गुरुकुलमा १ सय जना विद्यार्थी तथा साधुसन्तहरु रहेको साधक न्यौपाने बताउँछन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्