दिल्लीबाट बिष्फाेटक पदार्थ बोकेर आएको बस नवलपरासीमा समातियो

bus2
लाेकपाटी न्यूज

धनगढी, ७ वैशाख । प्रहरीले भारतको नयाँ दिल्लीबाट काठमाडौं आउँदैै गरेको बसबाट ठूलो मात्रामा बिष्फोटक पदार्थ बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल बेस क्याम्प डुडेझारी कैलालीले शुक्रबार राति करिब १२:४५ बजेतिर ना ५ ख ७२४५ नम्बरको बसबाट बम बनाउन प्रयोग हुने सामान बरामद गरेको हो । बसबाट बम र अन्य हतियार बनाउन प्रयोग हुने डिटोनेटरसहित ल्यापटप दुई थान, रेडिमेड कपडा, बेल्ट लगायतका सामाग्रीहरु बरामद भएको बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) नेत्र केसीले जानकारी दिए ।

राति शंका लागेर राति बस जाँच गरिएको थियो । बसबाट बिभिन्न सामानहरु सशस्त्र प्रहरीले बरामद गरेर धनगढीमा राख्यो । त्यतिन्जेलसम्म ति सामानमा बिष्फोटक पदार्थ पनि छन् भन्ने कुरा सशस्त्र प्रहरीलाई थाहा थिएन । त्यसैले बसलाई त्यहाँबाट जान दिइयो ।

तर, शनिबार बिहानपख पोका खोलेर हेर्दा डिटोनेटर लगायतका बिष्फोटक पदार्थ फेला परेपछि उक्त बसलाई रोक्न सशस्त्र प्रहरी बल बेस क्याम्पले अन्य जिल्लाका प्रहरी युनिटलाई सूचना प्रवाह गरेको थियो । त्यसपछि मात्र नवलपरासी प्रहरीले बसलाई रोकेर राखेको छ ।

सशस्त्र प्रहरी बलका डिएसपी केसीले बसबाट बरामद गरिएका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाउने जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले पनि दिल्लीबाट काठमाडौं जाँदै गरेको बसबाट बम बनाउन प्रयोग हुने सामाग्रीहरु सशस्त्र प्रहरी बलले बरामद गरेको जानकारी आफूले पाएको बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्