कालीगण्डकीको अस्तित्व बचाउन जलयात्रा महोत्सव

Jalyatra1
लाेकपाटी न्यूज

काठमाडौं, ७ वैशाख । पाल्पामा कालीगण्डकी जलयात्रा महोत्सव सञ्चालन गरिएको छ। कालीगण्डकीको अस्तित्व र गरिमालाई बचाउन पाल्पाको राम्दीदेखि पुट्टारघाटसम्म जलयात्रा महोत्सव सञ्चालन गरिएको हो ।

नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, रामपुर नगरपालिकाको आयोजना तथा रम्भा गाउँपालिका, स्याङ्जाको चापाकोट नगरपालिका, तनहुँको घिरिङ गाउँपालिकाको सहआयोजनामा उक्त महोत्सव आयोजना गरिएको छ । शुक्रबार मालुङ्गाबाट एकैसाथ १७ वटा र्याफ्टिङ डुङ्गामा मन्त्रीसहित जनप्रतिनिधि, कालीगण्डकी विकास अभियन्ता, राजनैतिक दल, उद्योग वाणिज्य सङ्घ, नगरपालिका तथा गाउँपालिकाका कर्मचारी गरी १४६ जना कालीगण्डकीमा जलयात्रामा निस्केका थिए ।

कालीगण्डकी उपत्यका विकास समितिका अध्यक्ष शान्ताबहादुर श्रेष्ठले कालीगण्डकीको पहिचान र प्रचार तथा नदीको महत्वलाई बचाएर बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउन महोत्सवले ठूलो सहयोग पुग्ने बताए।
करीब चार घण्टाको समय लगाएर भुजात सिद्धबाबा धामसम्म शुक्रबार साँझ जलयात्राको टोली पुगेको थियो । भुजात सिद्धबाबादेखि पुट्टारघाटसम्म जलयात्रा निकालिने कार्यक्रम छ।

मणिमुकुन्देश्वर उत्तरवाहिनी क्षेत्रमा चापाकोट नगरपालिकाले स्वागत र पुट्टारघाटमा घिरिङ गाउँपालिकाको आयोजनामा समापन गर्ने कार्यक्रम छ। निजी सङ्घसंस्थाद्वारा यसभन्दा अगाडि कालीगण्डकीमा जलयात्रा निकालिए पनि सरकारी तवरबाट भने पहिलो पटक जलयात्रा गरिएको हो।

जलयात्रा महोत्सवको उद्घाटन गर्दै मन्त्री गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कालीगण्डकी नदी ड्राइभर्सन गरेर अन्यत्र लगिए कालीगण्डकीको तल्लो क्षेत्रमा ठूलो असर पुग्ने बताए।

नदी ड्राइभर्सन भएको खण्डमा जलवायु, वातावरणीय, धार्मिक तथा सांस्कृतिक अस्तित्व नै मेटिने उनको भनाइ थियो। प्रदेश ४ र ५ को भविष्य कालीगण्डकीसँग जोडिएकाले पनि नदीलाई ड्राईभसन गरेर अन्यत्र लैजान नहुने उनले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्