काठमाडौं, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल जाने भएका छन् । शनिबार रूपन्देहीको बुटवल र पूर्वी नवलपरासीको कावासोतीमा हुने ऐतिहासिक कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गर्दैछन्।
प्रधानमन्त्री ओलीले बिहान ११ बजे बुटवल उपमहानगरपालिकामा रहेको ऐतिहासिक जितगढी किल्लामा कर्णेल उजुरसिंह थापाको पूर्ण कदको शालिक अनावरण गर्ने कार्यक्रम छ। तिनाउ खोला किनारमा पर्ने गढी क्षेत्रमा निर्माण भएको शालिकको उचाइ ९ फिट छ । उक्त सालिककै छेउमा रहेको ४२ फिट उचाइको राष्ट्रिय झण्डा पनि प्रधानमन्त्री ओलीले फहराउने कार्यक्रम छ।
१८७२ सालमा नेपाल र अंग्रेजबीच युद्ध हुँदा कर्णेल थापाको नेतृत्वको नेपाली फौजले यही किल्लाबाट अंग्रेजलाई परास्त गरेको थियो। नेपाली फौजसँग हारेर अंग्रेज फौज दक्षिणतर्फ गएकाले कर्णेल थापाको शालिक दक्षिणतर्फ फर्काएर निर्माण गरिएको छ। शालिक अनावरणपछि प्रधानमन्त्री ओलीले आमसभालाई सम्बोधन गर्नेछन्।
यसैगरी दिउँसो १ बजे प्रधानमन्त्री ओलीले कावासोतीमा आयोजना गरिने बर्दघाट सुस्तापूर्व नवलपरासीको सदरमुकाम शिलान्यास गर्ने कार्यक्रम छ। साथै उनले आमसभालाई पनि सम्बोधन गर्नेछन्।
नवलपरासीस्थित चौधरी उद्योग ग्रामभित्र रहेको शास्वतधामको अवलोकन गरेर प्रधानमन्त्री ओली आजै दिउँसो २ः४५ बजे काठमाडौँ फर्कने कार्यक्रम छ।



लाेकपाटी न्यूज

