सप्तरी, ६ बैशाख। आमा समूहले प्रहरीको सहयोगमा गाउँ, घर, टोलमा जाँडरक्सी बिक्री–वितरणमा प्रतिबन्ध लगाएका छन्। शिव महिमा आमा समूहले सप्तरीको कञ्चनरूप नगरपालिका ११ ठेलियामा जाँड, रक्सी बिक्री–वितरणमा प्रतिबन्ध लगाएका हुन्।
लगाएको इलाका प्रहरी कार्यालय ठेलियाका प्रहरी नायब निरीक्षक अयोध्याशरण यादवले जानकारी दिए। जाँडरक्सी बिक्री र सेवनका कारण घरेलु हिंसा बढेको भन्दै आमा समूहले अभियान थालेपछि गाउँमा सञ्चालित तीनवटा मदिराका पसलसमेत बन्द भएको छ।
आमा समूहकी अध्यक्ष महावती चौधरीका अनुसार मदिरा सेवनले बढेको घरलु हिंसा र सामाजिक विकृति रोक्न यहाँको महिला समूह सक्रिय भएका हुन्। मदिरा सेवनले पुयाउने हानि नोक्सानीका बारेमा आमा समूहले जनचेतना फैलाउन थालेपछि तीन जनाको मदिरा पसल बन्द भएको ठेलिया स्वास्थ्यचौकिकी अनमी सुनिता चौधरीले बताइन्।
गाउँका तीन जनाले अनुमति लिई मदिरा बिक्री वितरण गर्न थालेपछि सामाजिक विकृति फैलिएको भन्दै आमा समूहले जनचेतना अभियान थालेको हो। कार्यालयमा वडा अध्यक्षको उपस्थितिमा बिहिवार अबेरसम्म आमा समूह, इलाका प्रहरी कार्यालयका प्रतिनिधिबीच भएको छलफलपछिे गाउँमा मदिरा बिक्री नगर्ने लिखित सहमति गरेका छन्।
आमा समूह सक्रिय भएपछि महिलामाथि हुने घरेलु हिंसा, मादकपदार्थ सेवन, झैझगडाजस्ता घटना नियन्त्रणमा सहयोग पुगेको कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्त मिश्रको भनाइ छ। मापसे गरेर होहल्ला, झैझगडा गर्नेबारे सूचना दिई प्रहरीमा जिम्मा लगाउन पनि नगर प्रमुख मिश्रले आग्रह गरे।
पुरुषले मादक पदार्थ खाएर श्रीमती कुट्ने, घरमा होहल्ला गर्ने र उच्छृशृङ्खल गतिविधि हुन थालेपछि आमा समूह सक्रिय भएका हुन्। आमा समूहको सक्रियतामा अभियान चलेपछि र कतिपयलाई पक्राउ गरी कारवाही गरेपछि धेरै सुध्रिएको प्रहरीले जनाएको छ।



लाेकपाटी न्यूज
