चितवन, ६ बैशाख। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एचआईभी संक्रमित बालबालिकाको निःशुल्क स्वास्थ्य बिमाको घोषणा गरेकी छिन्।
शुक्रबार भरतपुरमा भएको नगर बाल भेलामा प्रमुख दाहालले महानगरमा भएका १९ जना एचआईभी संक्रमित भएका बालबालिकाको स्वास्थ्य बिमाको घोषणा गरेकी हुन्। कार्यक्रममा प्रमुख दाहालले भनिन्, ‘एचआईभी संक्रमित बालबालिकाको स्वास्थ्य बिमाको सम्पूर्ण खर्च महानगरपालिकाले नै व्यहोर्नेछ।’
कार्यक्रममा प्रमुख दाहालले आजका बालबालिका भोलिको कर्णधार भएको बताउँदै भनिन्, ‘संविधानले ग्यारेन्टी गरेका बालबालिकाको हकअधिकार सुनिश्चित गर्न महानगर प्रतिबद्ध रहेको छ।’ कार्यक्रममा उनले बालबालिकाको क्षमता विकासको लागि विभिन्न कार्यक्रम गरिरहेको बताइन्।
उनले भनिन्, ‘महानगरले बालबालिकाको लागि छात्रवृत्ति दिइरहेको छ, क्षमता विकासको लागि सामाजिक शाखाबाट विभिन्न कार्यक्रमहरु भइरहेका छन्।’ कार्यक्रममा महानगर प्रमुख दाहालले छिटै भरतपुर महानगरपालिकालाई बालश्रम मुक्त महानगर बनाउने प्रतिबद्धता जनाइन्।
उनले सीमित बजेटका बावजुद पनि महानगरपालिकाले बालबालिकाको क्षेत्रमा अनेकौँ कामहरु गरिरहेको बताइन्।कार्यक्रममा उनले भनिन्, ‘महानगरका केही वडाहरु, केही टोलहरु बालश्रम मुक्त भइरहेका छन्, छिटै सिङ्गो महानगरलाई बालश्रम मुक्त महानगर घोषणा गर्नेछौँ।’
कार्यक्रममा राष्ट्रिय सभाका सदस्य राममणि बिडारीले बालबालिकालाई मकैको घोगो फलाउने र धानको बाला झुलाउने शिक्षा चाहिएको बताएका छन्। कार्यक्रममा उनले भने, ‘अब सैद्धान्तिक मात्र होइन, व्यवहारिक शिक्षा चाहिन्छ, त्यसकारणले भरतपुर महानगरले त्यस्तै खालको शिक्षा नीति ल्याउन आवश्यक छ ।’
कार्यक्रममा उपप्रमुख पार्वती शाहले ‘राष्ट्रिय निर्माणमा बालबालिकाको ठूलो भूमिका रहेको छ, यसकारण बालबालिकाको हकअधिकार सुनिश्चित गरिनुपर्छ र महानगरपालिकाले बालबालिकाको हकअधिकार सुनिश्चित गरिहेको छ।’
भरतपुर महानगरका २९ वडाबाट बालबालिकाहरुको प्रतिनिधि उपस्थित कार्यक्रम नगर बाल सञ्जालकी अध्यक्ष खुसी नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो।



लाेकपाटी न्यूज

