पोखरा, ६ बैशाख। कवि भैरवी ढुङ्गाना र कवि बलराम दाहालबीच विहिबार साहित्यिक विवाह भएको छ ।नुवाकोटकी ढुङ्गानाको कवितासङ्ग्रह ‘अस्वीकृत शालीनता’ र दोलखाका कवि दाहालको ‘भाडा नलाग्ने कोठा’ कवितासङ्ग्रह विमोचनसँगै दुवै विवाहबन्धनमा बाँधिएका छन्।
कृतिको लोकार्पण गर्दै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले समृद्ध नेपाल र सुखी नेपालीको नारालाई यस विवाहले सहयोग पुर्याएको बताए। “विवाहसँगै नयाँ कृतिलाई पनि लोकार्पण गरिनु साधारण कुरा होइन”, उनले भने। उनले दुई कृतिसँगै दुई आत्मा पनि जोडिएकामा बधाईसमेत दिए।
तेह्र वर्षअघि एक साहित्यिक जमघटमा भएको भेटघाटले आज विवाहसम्मको स्थितिमा पुगेको कवि ढुङ्गानाले बताईन। “त्यो भेटघाट आज विवाहसम्मको स्थितिमा पुग्ला भनेर कल्पना समेत गरेको थिइन”, उनले भनिन्। कवि दाहालले आफ्नो भाग्यमा लेखिएको कुरा केही गरे पनि नमेटिने बताए।
‘अस्वीकृत शालीनता’माथि समीक्षा गर्दै समालोचक डा.शैलेन्द्रप्रकाश नेपालले कविको कविताले जीवनभरका लागि सम्भावनाको सङ्केत बोकेको बताए। ‘भाडा नलाग्ने कोठा’को समालोचना गर्दै समालोचक प्रभाती किरणले फरक आयाम र फरक विषयका पद्य कवितालाई कविले रचनात्मक ढङ्गले प्रस्तुत गरेको बताइन्।
सर्वनाम थिएटरका प्रमुख अशेष मल्लले दुवै जनाको आँट र कृतिप्रतिको लगनशीलतासँगै नयाँ जीवन र उज्वल भविष्यको कामना गरेका थिए। त्रिवेणी वाङ्मय प्रतिष्ठानको आयोजना र सर्वनाम थिएटरको संयोजनमा उनीहरुको विवाह भएको हो।



लाेकपाटी न्यूज

